
बुटवल। भनिन्छ, ‘एकसाथ दुईवटा डुङ्गामा खुट्टा राखेर यात्रा गर्नु भनेको दुर्घटना निम्त्याउनु हो ।’ गायक तथा अभिनेता प्रकाश सपूतले पनि यही दुस्साहस गर्दा करिअरमा ठूलो उतारचढाव भोग्नु परेको छ । गायनमा लोभलाग्दो उडान भरिरहँदा उनले ‘परदेशी २’बाट फिल्ममा डेब्यु गरेका थिए । यसबाट उनले सफलता पनि पाए । उनको दोस्रो फिल्म ‘पूर्णबहादुरको सारंगी’ले त इतिहास नै रच्यो ।
तर, गत वर्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेपछि उनले अभिनय र गायनमा निरन्तर असफलता भोगिरहेका छन् । उनी आफैंले निर्देशन र अभिनय गरेको फिल्म ‘वसन्त’ नराम्ररी डुब्यो । उनका लागि यस वर्ष अझ निराशाजनक बनेको छ । ५ महिनाअघि सार्वजनिक भएको उनको गीत ‘नाइँ भनेसी नाइँ’ ठ्याम्मै चलेन । उनका फिल्महरू पनि श्रृंखलाबद्ध रुपमा फ्लप भए ।यस वर्ष उनका चार फिल्म ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’, ‘सोल्टिनी’ र ‘मिरमिरे’ प्रदर्शन भइसकेका छन् । यसमध्ये ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ले ४ करोडको आँकडा पार गरे पनि लगानी सुरक्षित गर्न सकेनन् । ‘सोल्टिनी’को अवस्था त हरिविजोग नै रह्यो । यसले ३० लाख पनि कमाएन । यतिबेला प्रदर्शन भइरहेको ‘मिरमिरे’को व्यापार पनि ४० लाख आसपासमा अड्किएको छ ।
एक वर्षमै चारवटा फिल्म फ्लप भएपछि उनीदेखि निर्माताहरू तर्किन थालेका छन् । यसैले हुनसक्छ, उनले पनि नयाँ बाटो रोजेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजनीतिमा होमिँदै उनी समानुपातिक उम्मेदवार बनेका छन् । उनी सांसद बन्ने निश्चित प्रायः देखिन्छ । जे होस्, प्रकाशको भाग्यलाई चाहिँ मान्नैपर्छ । एकातिर नभए अर्कोतिर उनका लागि ढोका खुला भइसकेको हुन्छ ।
कमेन्ट गर्नुहोस्