लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह,वैयक्तिक विवरण सार्वजनिक

IMG

काठमाण्डाै – निर्वाचन आयोगले चुनावको प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ । आयोगले आज सामाजिक सञ्जालमार्फत सूचना निकाल्दै आमसभा, जुलुस र प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको हो ।यसअघि आजै जेनजी फ्रन्टले विज्ञप्ति निकालेर फागुन २१ गते हुने चुनावमा बालबालिकाहरूको प्रयोग भइरहेको विषयप्रति आपत्ति जनाएको थियो । जेनजी फ्रन्टले फागुन २१ गते हुने चुनावका लागि बालबालिकाहरूको प्रयोग भएको भन्दै त्यसप्रति फ्रन्टको गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।


निर्वाचन आचारसंहिताले राजनीतिक गतिविधि र चुनावी प्रचार सामग्रीमा बालबालिकाको अनुहार, नाम वा सहभागिताको प्रयोगलाई स्पष्ट रूपमा निषेध गरेको छ ।नेपालमा विगतका चुनावमा दलहरूले बालबालिकालाई र्‍याली, जुलुसमा नाचगान गराउने, नारा लगाउने र पोस्टर बोक्ने काममा प्रयोग गर्दै आएका छन् । अहिले सामाजिक सञ्जालमार्फत बालबालिकालाई उम्मेदवारको पक्षमा चर्चा गर्न लगाएका थुप्रै उदाहरण भेटिन्छन् ।अन्तर्राष्ट्रियस्तरमा चुनावी प्रचारमा बालबालिकाको प्रयोगलाई बालअधिकारको उल्लङ्घन मानिन्छ । संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धि १९८९ र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धिले बालबालिकालाई राजनीतिक शोषणबाट संरक्षण गर्ने व्यवस्था गरेका छन् ।विश्वका धेरै प्रजातान्त्रिक देशहरूमा चुनावी कानूनले नै बालबालिकाहरूलाई प्रचारप्रसारमा प्रयोग गर्न प्रतिबन्ध लगाएका छन् ।


उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०८२ को दफा २२ (१) अनुसूची–१० बमोजिम उम्मेदवारले मनोनयन पत्रसँगै पेश गरेका वैयक्तिक विवरण त्यही दफाको उपदफा (३) अनुसार सार्वजनिक गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष तथा विश्वसनीय बनाउन उम्मेदवारका वैयक्तिक विवरणहरू सार्वजनिक गर्नु आवश्यक रहेको भन्दै आयोगले कानूनी व्यवस्थाअनुसार सम्बन्धित सबै उम्मेदवारका विवरण आफ्नो आधिकारिक ‘वेबसाइट’ मार्फत प्रकाशन गरेको उहाँले बताउनुभयो । यसले मतदाता, सरोकार भएका निकाय, सञ्चारमाध्यम तथा आमनागरिकलाई उम्मेदवारसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न सहज बनाउने विश्वास छ ।उम्मेदवारको वैयक्तिक विवरण आयोगको ‘वेबसाइट’ मा हेर्न सकिने छ ।

कमेन्ट गर्नुहोस्