
देवदह । पाल्पा सिमेन्ट ईण्डष्ट्रिज लिमिटेडले जारी गर्न लागेको आईपीओलाई लिएर देवदहका स्थानीयले विरोध गरेका छन् । उद्योगले प्रदुषणबाट पर्ने दीर्घकालीन असरको मुल्याङ्कन नगरी आइपिओको लोभ देखाएर जनताको समर्थन जुटाउन खोजेको भन्दै देवदहवासीले विरोध जनाएका हुन् ।
करिव १०० मिटर दुरीमा रहेको उद्योगका कारण नगर क्षेत्रको वातावरणीय प्रदूषण, स्थानीयको स्वास्थ्य जोखिम र कृषिमा समेत असर पारिरहेको स्थानीयले आरोप लगाएका छन् । उद्योगदेखि खानीसम्म जाने बाटो नगरको प्रयोग गर्ने, स्थानीयले उद्योगबाट निस्कने प्रदुषणसँगै टिप्परहरुको धुलो समेत खानुपर्ने तर आईपीओ निष्कासन गर्दा प्रभावित क्षेत्रमा देवदह किन नपर्ने ? उनीहरुले उद्योगबाट पर्ने समस्या समाधानभन्दा पनि आइपिओमार्फत लाभ बाँड्ने प्रयास गरिएको भन्दै आक्रोस पोखेका छन् ।उद्योगले आईपीओ प्रकासन गरेसँगै पूर्व नगरप्रमुख हिरा बहादुर खत्रीले गएराती सामाजिक सञ्जाल मार्फत विरोध जनाएका छन् । उद्योगको नाममा हाल जारी भएको आइपीओको बारेमा आफ्नो बिमती रहेको उनले फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।
खत्रीले भनेका छन्, ‘पाल्पा सिमेन्ट उद्योगको नाममा हाल जारी भएको आईपीओको बारेमा जानकारी भए लगत्तै गम्भीर चासोसंगै सम्बन्धित पक्षसंग आईपीओ जारी गर्दा भएको बिभेदका बारेमा देवदहवासीका तर्फबाट गम्भीर बिमती छ र सम्मानजनक सम्बोधन गर्नु पर्दछ भनी ध्यानाकर्षण गरेको छु । यसका लागि सदैव अग्रपंक्तिमा रहेर काम गर्ने प्रतिबद्धता जाहेर गर्दछु ।’त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी देवदहले पनि उद्योगले देवदहवासीलाई आईपीओबाट बञ्चित गर्न लागेको भन्दै बिरोध जनाएको छ । पार्टीका नगर अध्यक्ष किरण भण्डारीले सामाजिक सञ्जाल मार्फत शुक्रवार दिउसो उद्योगलाई ज्ञापनपत्र बुझाउने जनाएका छन् ।
यसैगरी देवदह नगरपालिकाका प्रवक्ता एवम् वडा नं ५ का अध्यक्ष गणेश डुम्रेले उद्योगले देवदहलाई प्रभावित क्षेत्र मानेर आईपीओमा समावेश नगरे त्यसको प्रतिकार गरिने जनाएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘विभिन्न बाहाना देखाएर देवदहवासीलाई पाल्पा सिमेन्टले जारी गर्ने उद्योग प्रभावित आईपीओ बाट बञ्चित गरियो भने कजरार पुलबाट पश्चिम हुँदै उत्तरतर्फ चल्ने टिप्पर र उद्योगले फाल्ने धुवा र धुलोको मुस्लो आफ्नै कम्पनिमा सिमित गर्ने प्रबिधी जडान तर्फ लाग्दा हुन्छ ।’
नगर प्रवक्ता डुम्रेले जनता हिजो जस्तै अबुझ नभएको उल्लेख गर्दै तत्काल समस्या समाधान गरि प्रभावित जनतालाइ न्याय दिन सरोकारवाला निकाय समक्ष अनुरोध गरेका छन् । उनले बिद्रोहको भार गरुङ्गो हुने उल्लेख गर्दै समस्या समाधान तर्फ लाग्न सुझाएका छन् ।केहि स्थानिय मिडियासँग कुरा गर्दै प्रवक्ता डुम्रेले नबिल स्टक डिलर लिमिटेड तिनधारा काठमाडौं मार्फत जारी गर्न लागेको आईपिओबारे बिहिबार मात्र नगरप्रमुख ध्रुवप्रसाद खरेलले उद्योगका जनसम्पर्क अधिकृत (पिआरओ) जीवन निरौलालाई कार्यालयमा बोलाएर स्थानीयको गुनासो सम्बोधन गर्न निर्देशन दिएको जानकारी दिए ।निर्देशनसँगै देवदह नगरपालिकाले उद्योगलाई प्रभावित क्षेत्र र आइपीओमा समेत समावेश गर्न पत्राचार गरेको छ । नगरप्रमुख खरेलको हस्ताक्षर रहेको चलानी नं १२१७ को पत्र मार्फत नगरपालिकालाई तत्काल प्रभावित क्षेत्रको रुपमा उल्लेख गरि आइपीओमा सहभागिताको लागि पुनः अर्को सूचना प्रकान गर्न आग्रह गरिएको छ ।
कमेन्ट गर्नुहोस्