
तिलोत्तमा । तिलोत्तमा–८ को संगम टोलको जनभावना पथदेखि करहिया सामुदायिक वनको कार्यालय अगाडिको सडक क्षेत्रमा एक घर एक फुलबारी अभियान शुरु भएको छ ।साुमदायिक वनले उक्त टोलमा हालै मात्र सिद्धार्थ पिस पार्क बनाएपछि त्यहां पुग्न बाटोको दक्षिणतर्फ र उत्तरतर्फका प्रत्येक घर अगाडि फूल रोपेर सौन्दर्यीकरण गर्न टोलवासीलाई विभिन्न प्रजातिका ५ सय फुल वितरण गरिएको छ । पुष्प व्यवसायी एवं सिद्धार्थ पिस पार्कका डिजाइनर रमेश पाण्डेले संगम टोलवासीलाई विरुवा हस्तान्तरण गरेका हुन् ।
फुलका विरुवा हस्तान्तरण गर्दै पाण्डेले सिद्धार्थ पिस पार्क बनेसंगै उक्त पार्कमा स्वदेशी र विदेशी पर्यटक समेत आउने भएकाले सिंगो टोललाई सुन्दर र हरियालीयुक्त र सफा बनाउन जरुरी रहेकोमा जोड दिए । संगम टोल विकास संस्थाकी उपाध्यक्ष संगिता घिमिरेले तिलोत्तमा नगरपालिकाले अघि सारेको ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा नारालाई सार्थक बनाउन टोलमा अघि बढेको एक घर एक फुलबारी अभियानमा वडा र नगरपाकिलाको सहयोग हुनुपर्ने माग गरिन् । करहिया सामुदायिक वनले चार करोड लागतको गुरुयोजना बनाएर पहिलो चरणमा करिब एक करोड लागतमा एक बिघा क्षेत्रफलमा आकर्षक पार्क बनाएको छ । उक्त पार्कलाई हालै मात्र सिद्धार्थ पिसपार्क नामाकरण गरिएको छ । पार्क बनाउन वन समिति, तिलोत्तमा नगरपालिका र डिभिजन वन कार्यालयको समेत आर्थिक सहयोग भएको वन समितिका अध्यक्ष हरिलाल पाण्डेले बताए ।
पार्क नजिकै पिकनिक स्पट र सभा हल समेत बनेको छ । पार्कमा बालबालिकाका लागि खेलकुद सामग्री, विश्रामका लागि हरियालीयुक्त बगैँचा, पदमार्ग लगायतका विविध संरचनाहरू निर्माण हुँदै छन् ।पार्कमा बुद्धको मूर्ति, वाटर फाउन्टेनलगायतका संरचना बनाउन बाँकी रहेको छ ।सिद्धार्थ पिस पार्क पूर्वपश्चिम राजमार्गको बुटवल–देवदह खण्ड अन्तर्गत फायरलाइनबाट तीन किलोमिटर दक्षिण र मणिग्राम–देवदह मार्ग अन्तर्गत शिवपुरबाट एक किलोमिटर उत्तर दूरीमा छ ।
कमेन्ट गर्नुहोस्