
तिलोतमा,मङ्गलापुर। जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक उत्सव तिलोतमा नगरपालिकामा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि तिलोतमा नगरप्रमुख रामकृष्ण खाणले सहकारीले समाजमा गरिबी न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो। उहाँले सहकारीहरू आर्थिक कारोबारमा मात्र सीमित नभई महिलाको नेतृत्व विकास, व्यक्तित्व विकास, शिक्षा, स्वास्थ्य तथा सामाजिक चेतनामा उल्लेखनीय योगदान दिँदै आएको उल्लेख गर्नुभयो। नगरप्रमुख खाणका अनुसार नेपालभर करिब ३५ हजार सहकारी संस्था सञ्चालनमा छन्, जसमा ३३ प्रतिशतभन्दा बढी महिलाको सहभागिता रहेको छ। यो तथ्यले सहकारी अभियानमा महिलाको सशक्त उपस्थितिलाई स्पष्ट रूपमा देखाएको उहाँको भनाइ थियो।
कार्यक्रममा “जेष्ठ सेयर सदस्यहरूको नजिकको साथी जनउत्थान सहकारी” भन्ने नाराका साथ जनउत्थान सहकारी मणिग्राम शाखाअन्तर्गत ७० वर्ष नाघेका ९६ जना जेष्ठ सेयर सदस्यहरूलाई दोसल्ला तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। जेष्ठ नागरिकप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने उद्देश्यले गरिएको यस कार्यक्रमलाई सहभागीहरूले सकारात्मक रूपमा लिएका थिए। त्यसैगरी, शिक्षा क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले प्लस टु र स्नातक तहमा अध्ययनरत, विशेषगरी सरकारी विद्यालयमा अध्ययनरत ८० जना विद्यार्थीहरूलाई विभिन्न सूचकका आधारमा छात्रवृत्ति प्रदान गरिएको जनउत्थान सहकारीका उपाध्यक्ष सरु रानाले जानकारी दिनुभयो। यसले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूको अध्ययनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सहकारीले कृषि क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले सातवटा वा सोभन्दा बढी बाख्रा पालन गर्ने सेयर सदस्य कृषकहरूलाई बिना ब्याज २० हजार रुपैयाँ ऋण उपलब्ध गराउने घोषणा गरेको छ। उक्त ऋण दुई वर्षपछि बिउ पुँजीका रूपमा फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको जनउत्थान सहकारी संयोजक रनबहादुर थापाले बताउनुभयो। साथै, आमा समूह तथा टोल विकास संस्थालाई प्रवर्द्धन गर्ने उद्देश्यले पाँच हजार रुपैयाँ राखी खाता खोल्ने संस्थालाई सहकारीले थप पाँच हजार रुपैयाँ खातामा जम्मा गरिदिने नीति समेत सार्वजनिक गरिएको छ।
त्यसैगरी सहकारीको वार्षिक कारोबारका आधारमा अधिकतम सुरक्षित पुँजीकोष प्राप्त गर्ने सदस्यहरूलाई सम्मान गरिएको थियो भने सहकारीसम्बन्धी प्रश्नोत्तर कार्यक्रममा सही उत्तर दिने चार जना सदस्यहरूलाई पनि पुरस्कृत गरिएको थियो। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले सांगीतिक तथा नृत्य प्रस्तुति दिँदै उत्सवलाई थप मनोरञ्जनात्मक बनाएका थिए।
कमेन्ट गर्नुहोस्