
तिलोतमा, मंगलापुर।तिलोतमा नगरपालिका–९ मंगलापुरमा सम्झना परिवार क्लबले समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्दै ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ। देउसी–भैलोबाट संकलन गरिएको रकम समाजमै फिर्ता गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा १०३ वर्षसम्मका ज्येष्ठ नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा साबीक करहिया–२ का ४० जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। ज्येष्ठ नागरिकलाई सम्मान गर्न पाउँदा आफूहरू खुशी लागेको क्लबका अध्यक्ष धीरज पुनले बताउनुभयो। उहाँले देउसी–भैलो जस्तो परम्परागत सांस्कृतिक गतिविधिबाट संकलित रकमलाई पिकनिक र खेलकुदमा सीमित नराखी सामाजिक सेवामा प्रयोग गर्नु नै क्लबको मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो।अध्यक्ष पुनका अनुसार, “आज समाज जहाँ पुगेको छ, त्यसको आधार ज्येष्ठ नागरिकहरूले नै निर्माण गर्नुभएको हो। उहाँहरूको योगदानको कदर गर्नु हाम्रो कर्तव्य हो। त्यसैले समाजबाट उठेको रकम समाजकै अभिभावकहरूलाई सम्मान गर्न खर्च गरिएको हो।” उहाँले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष ध्रुव न्यौपानेले सम्झना परिवार क्लबले गर्दै आएको सामाजिक तथा मानवीय कार्यको प्रशंसा गर्दै यस्ता गतिविधिमा वडाको सधैँ साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। ज्येष्ठ नागरिकको सम्मान गर्नु भनेको आफ्नै इतिहास, संस्कार र संस्कृतिको सम्मान गर्नु जस्तै भएको उहाँको भनाइ थियो।सम्मान कार्यक्रममा तत्कालीन कांग्रेस सांसद बाबुराम राना, स्थानीय बुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
सम्मान ग्रहण गर्दै केही ज्येष्ठ नागरिकहरूले आफूहरूलाई सम्झेर गरिएको कार्यक्रम खुशी बनाएको प्रतिक्रिया व्यक्त गर्दै यस्ता कार्यक्रमले नयाँ पुस्तालाई संस्कार, सम्मान र जिम्मेवारीबोध सिकाउने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रमकै अवसरमा तिलोतमा वडा नम्बर ९ द्वारा आयोजित ८ किलोमिटर राष्ट्रिय म्याराथन दौड प्रतियोगितामा दोस्रो, तेस्रो तथा सान्त्वना स्थान हासिल गर्ने धावकहरू र वडास्तरीय नृत्य प्रतियोगितामा सफलता हासिल गरेका प्रतियोगीहरूलाई पनि सम्मान गरिएको थियो।
कमेन्ट गर्नुहोस्