
रुपन्देही । बिहान वा साँझको हिँडाइलाई हामी प्राय: मर्निङ/इभिनिङ्ग वाक भनेर बुझ्दछौं । आजभोलि यसरी नहिड्ने मानिस कमै होलान् । कोही बाध्यताले हिड्छन् त कोही रहरले । धेरैजसो मानिसहरु जो आफ्नो स्वास्थप्रति सजक हुन्छन्, उनीहरु प्राय: बिहानी हिँडाइमा निस्कन्छन् । रुपन्देहीमा भने कुनै पार्टीका नेताहरुले यो हिँडाइलाई गज्जवको पार्टी निर्माण अभियानसंग जोडेका छन् ।
हरेक दिन जुत्ता र ट्रयाकसुट लगाएका एक हुल मानिसहरु कुनै न कुनै चोकमा जम्मा हुन्छन् र हिडाइसंगै स्थानीयका गुनासा र समस्याहरु पनि सुन्छन् । यसैबीचमा, जुत्ता र ट्रयाकसुट लगाएका एक हुल मानिसहरु बुटवलको नेपालगञ्ज रोडमा जम्मा हुन्छन् र त्यहाँका आफ्ना कार्यकर्ताहरुका साथ सडकबाट उत्तरपूर्वतर्फ अगाडि बढ्छन् । यो दृष्य हो - बुधवार बिहान करिब ५ः३० बजेतीर सामूहिक रुपमा मर्निङ्ग वाकमा निस्केका नेपाली कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुको ।
उनीहरुको मर्निङ्ग वाक टोली केहि छिनमा पक्की सडक हुँदै सिद्धार्थ राजमार्ग क्रस गरेर लक्ष्मीनगर गेटतर्फ अघि बढ्छ र त्यहाँ पनि केहि कार्यकर्ता हिडाइमा जोडिन्छन् । त्यसपश्चात केहि समयको हिडाइ पश्चात सामूहिक हिडाइको टोली लक्ष्मी सामुदायिक विद्यालय नजिकै रहेको लक्ष्मीनगर स्थित पार्कमा पुग्छन् र त्यहाँ राखिएका व्यायामका सामग्रीका साथ शारीरिक अभ्यास गर्छन् । शारीरिक कसरतसंगै यस टोलीका प्रमूख नेतृत्वकर्ता नेपाली कम्युनिष्ट पार्टीका नेता नारायण जिसी (निर्मल) व्यायामका लागि आएका त्यहाँका स्थानीयसंग त्यस ठाउँका साझा समस्याका बारेमा सोधखोज गर्छन । अधिकांशको जवाफ र चासो भने एउटै हुन्छ, ‘लक्ष्मी नगरको पहिरो’को समस्या र समाधानका लागि सम्बन्धित निकाय र सरोकारवालाहरुलाई चासो बढाईदिन अनुरोध । प्रतिउत्तरमा पार्टी र आफुहरुको तर्फबाट समस्या समाधानका लागि सक्दो प्रयास र पैरवी गर्ने नेताहरुको प्रतिबद्धता ।
त्यसपश्चात केही समयको कसरत र हिडाइपछि मर्निङ्गवाकको टोली बुटवल जेसिस चोकमा आइपुग्छन् र पार्टी वडाको बन्दोबस्तीमा खाजाघरमा चिया पिउन रोकिन्छन् । चियाको चुस्कीसंगै नेताहरु त्यहाँका स्थानीय भक्त बस्नेतको गुनासो र समस्या सुन्न तयार हुन्छन् । लामो समयदेखि आफुहरु बस्दै आइरहेको ठाउँ र जग्गामा लालपूर्जा समस्या रहेको बस्नेत बताउँछन् । विभिन्न ठाउँमा समस्या राखिएपनि समस्याको हल नभएको उनको गुनासो थियो । नेता नारायण जिसीले उनको गुनासो सुनिसकेपछि समस्या समाधानको लागि पहिले पनि भक्त बस्नेतसंग सहकार्य र प्रयास गरिएको स्मरण गर्दै फेरी पनि लालपूर्जा र जग्गा स्वामित्वको समस्या समाधानका लागि आफुहरु पीडितको साथमा रहेको प्रतिबद्धता जनाए ।
नेपालका केही कम्युनिष्ट पार्टीहरुका बीच हालैमात्र एकिकरण भएर बनेको नेपाली कम्युनिष्ट पार्टीको मूख्य घटक मध्ये एक विघटित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समितिको निर्धारित योजना र कार्यक्रम अनुसार बिहानीको हिँडाईसंगैे नेता, कार्यकर्ता र स्थानीयजनतासंग भेटघाट अभियानले रुपन्देही जिल्लाका विभिन्न पालिका लगायत बुटवल उपमहानगर भित्र तिब्रता पाइरहेको जिसी बताउँछन् ।अभियान अन्तर्गत मंसिर ९ गते बुटवल वडा नं २, मंसिर १० गते वडा नं ४, मंसिर ११ गते बुटवल वडा नं ३ गोलपार्कमा बिहानीको हिडाईसंगै स्थानीय जनता र नेताकार्यकर्ताका बीचमा भेट्घाट गरिएको नेता जिसीले जानकारी दिए । 'बुटवलका धेरै वडाहरुमा जग्गा र अव्यवस्थित बसोबास सम्बन्धि समस्या, विकास र ढिसासुस्तीको गुनासो आएको र यसको समस्या समाधानका लागि पार्टीको तर्फबाट योजना बनाएर नै अभियान संचालन गरिएको हो' नेता जिसीले भने ।
पार्टीले बिहानीको हिडाई (मर्निङ्ग वाक) को गतिसंगै पार्टीको अभियान तथा नेता र पार्टीकार्यकर्ताका बीचमा भेट्घाट तथा छलफललाई निरन्तर अगाडि बढाइरने बताइएको छ । बिहानको मर्निङ्गवाक पनि हुने र नेता र कार्यकर्ताका बीचमा पनि भेट्घाट र छलफल हुने भएकाले जिल्लाका विभिन्न पालिका र वडागत रुपमा केहि महिनादेखि भेट्घाट र छलफल नौलो रुपमा गर्ने गरिएको पार्टी कार्यकर्ताहरूले जनाएका छन । पार्टीले बुटवल उपमहानगर तिनाउ पारिका वडा नं १९, वडा नं १२, वडा नं १४ लगायत अन्य वडाहरुमा समेत मर्निङ्गवाक र छलफल गरिसकेको बताइएको छ ।अभियानको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीका नेताहरु नारायण जिसी, रामु परियार, सुजित विक, रिज्जु श्रेष्ठ, क्षितिज, महेन्द्र भूषाल लगायतले गरेका छन् ।
कमेन्ट गर्नुहोस्