
बुटवल । भारी वर्षाका कारण सडक यातायात बन्द भएपछि अलपत्र परेका यात्रुहरुलाई भैरहवाबाट काठमाडौं ल्याउन नेपाल वायुसेवा निगमको चार्टर्ड फ्लाइट आज दिउँसो हुने भएको छ ।भारी वर्षाका कारण सडक यातायात बन्द भएपछि अलपत्र परेका यात्रुहरुलाई चार्टर्ड फ्लाइट मार्फत आइतबार राति भैरहवाबाट काठमाडौं पठाउने भनिएको थियो । तर अन्तिम समयमा तयारी नपुगेको भन्दै स्थगित गरी आज सोमबार दिउँसो २:४५ बजेका लागि सारिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए । ‘हिजो विभिन्न कारणले तयारी पुगेन भनेर उडान स्थगित भयो, आज दिउँसो हुन्छ भन्ने छ’ तिवारीले भने ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले आज दिउँसो १ बजे विमान काठमाडौंबाट भैरहवा आइपुग्ने र २:४५ बजे काठमाडौं प्रस्थान गर्ने गरी तयारी भएको बताए ।यात्रुलाई विमानस्थलको काउन्टरबाट टिकट काट्न सिस्टमका कारण समस्या भए पनि प्रशासनले नाम संकलन गरेर त्यसैका आधारमा भएपनि आज दिउँसो पठाउने प्रजिअ पाण्डेले बताए ।हिजो जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आग्रहमा निगमको १५८ सिट क्षमताको जहाजमार्फत यात्रुहरुलाई आइतबार राति ८ बजे भैरहवाबाट काठमाडौं पठाउने तयारी गरिएको थियो ।
सोही अनुरुप नेपाल वायुसेवा निगमले नागरिक उड्डयन प्राधिकरणसँग आइतबार साँझ ७:१५ देखि ९:४५ बजेसम्म काठमाडौं–भैरहवा र भैरहवा–काठमाडौंसम्मको उडानका लागि ए ३०२ को अनुमति लिएर यात्रुहरुको नाम संकलन समेत गरेको थियो ।नेपाल वायुसेवा निगमले पनि सूचना जारी गर्दै काठमाडौं–भैरहवा ५ हजार र भैरहवा–काठमाडौं ७ हजार भाडा तय गरेको जानकारी गराएको छ । प्रजिअ पाण्डेका अनुसार उपचारका लागि जानुपर्ने बिरामी, अध्ययन तथा रोजगारीका लागि विदेश जान टिकट लिइसकेका यात्रु तथा पर्यटक लगायतलाई प्राथमिकता दिएर पठाइने छ ।
कमेन्ट गर्नुहोस्