
मझुवा। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले पछिल्लो कमजोर सुरक्षा अवस्थाका बारेमा जानकारी गराउँदै सुरक्षा प्रवन्ध मिलाउन इलाका प्रहरी कार्यालयलाई आग्रह गरेको छ । संघका अध्यक्ष हरिप्रसाद अर्यालको नेतृत्वमा गएको प्रतिनिधि टोलीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानासँग भेट गरी जेन–जी आन्दोलनपछि देखिएको कमजोर सुरक्षा अवस्थाप्रति ध्यानाकर्षण गराएको हो ।
संघले आन्दोलनका क्रममा व्यवसायिक प्रतिष्ठान, सार्वजनिक सम्पत्ति तथा प्रहरी बिटहरुमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाप्रति चिन्ता व्यक्त गर्दै दोषीलाई खोजी गरी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । साथै, बजार क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई नियमित गस्ती बढाउन र जलाईएका प्रहरी बिटलाई सञ्चालनमा ल्याउन आग्रह गरिएको छ ।
संघका अध्यक्ष अर्यालले चाडपर्व नजिकिँदै गर्दा चोरी, डकैती र लुटपाटको जोखिम बढ्ने भएकाले सुरक्षा व्यवस्थामा विशेष ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले प्रहरीलाई आवश्यक सहयोग गर्न संघ तत्पर रहेको समेत जानकारी दिनुभयो ।यस अवसरमा डीएसपी रानाले स्थानीय व्यवसायी र समुदायलाई शंकास्पद गतिविधि वा व्यक्तिको बारेमा तत्काल प्रहरीलाई जानकारी दिन आग्रह गर्नुभयो । उहाँले प्रहरी नियमित काममा फर्किएको र शान्ति सुरक्षालाई सामान्यीकरण गर्न भरपर्दो सुरक्षा व्यवस्था मिलाइने आश्वासन दिनुभयो ।
कमेन्ट गर्नुहोस्