
चारनम्बर,मणिग्राम।भदौ २३ गते आन्दोलनको पहिलो दिन नै आफ्नो घर तोडफोड गरिदिएको र आन्दोलनको दोस्रो दिन भदौ २४ गते आग्जनी गरिएपछि तिलोतमा नगरप्रमुख रामकृष्ण खाण लेख्नुहुन्छ।
प्रिय जेन जी भाईबहिनीहरु, नमस्कार ।
म रामकृष्ण खाण । तिलोत्तमा नगरपालीकाको नगर प्रमुख । यहांहरुले भ्रष्टाचारको अन्त्य र सरकारले सामाजिक संजालमाथि लगाएको प्रतिबन्ध हटाउनका लागि गर्नुभएको आन्दोलनप्रति मेरो समर्थन नै थियो । शान्तिपुर्ण आन्दोलनबाटै निकास निकाल्ने प्रतिबद्धता सहित सडकमा आउनुभएका तपाईहरुको उचित मागको सम्बोधन सरकारबाट सही समयमा नहुंदा अप्रिय घटना घट्न गयो जसले गर्दाे मेरो मन रोएको छ । सरकारी पक्षको गोली प्रहारबाट मृत्यु भएका सम्पुर्ण युवा प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु साथै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । घाइते हुनुभएका युवाहरुको पुर्ण स्वास्थ्य लाभको कामना गर्दछु ।
जेन जी भाईबहिनीहरु, शान्तिपुर्ण भनिएको आन्दोलनमा एकाएक भड्किएको हिंसात्मक गतिविधीले मेरो मनमा गहिरो चोट पुगेको छ । मलाई पुर्ण विश्वास छ, आन्दोलनको क्रममा भएका हिंसात्मक गतिविधीहरु तपाईहरुबाट भएको होइन । म पारिवारिक रुपमै सामाजिक कार्यमा संलग्न परिवारको सदस्य हुं । सामाजिक कार्यको अनुरुप नै कुनै पार्टीसंगको आवद्धतामा रही मैले नगर प्रमुखको चुनाव लडेको थिएं । यहांहरुको साथ, समर्थन, हरेक नगरवासीको माया र आशिर्वादले नै म हाल नगर प्रमुखको भुमिकामा रहेको यहांहरुलाई अवगत नै छ । शान्तिपुर्ण भनिएको आन्दोलनबाट मेरो घर तथा परिवारमा परेको पिंडा शब्दले बयान हुंदैन र गर्न सक्दिन पनि । नगर प्रमुख बनेर पैसा कमाएर मैले मेरो घर बनाएको थिइन । उक्त घरमा मेरी ९३ वर्षकी आमा, (जो हिंडडुल गर्न सक्नुहुन्न, जसलाई विशेष हेरचाह चाहिन्छ) , मेरो श्रीमती, छोराछोरी , भाइबुहारी बस्नुहुन्थ्यो । मेरो मातापिताले म जन्मनु पुर्व नै, २०२० सालमा स्याङ्जादेखि बसाई सरि आई तिलोत्तमामा बनाएको उक्त घरले मलाई चिनाएको हो । मेरो बाल्यकाल, मेरो पाईलाको सुरुवात भएको सो घरमा भदौ २३ गते आन्दोलनको पहिलो दिन नै तोडफोड गरि उत्श्रृंखल गतिविधी मच्याईयो । त्यस दिनको तनाव र चिन्ताले सताइरहेका बेला अर्को दिन ( भदौ २४ गते) मेरो घर, मेरो बाल्यकाल सम्झाउने मेरो संसार जलाईयो । त्यती मात्र होइन, मैले नगर प्रमुख हुनुपुर्व नै आफ्नै परिश्रमले केही रकम कमाएर बनाएको अर्को घरमा समेत तोडफोड गरियो ।
प्रिय भाईबहिनीहरु, यहांहरुलाई स्मरण गराउन चाहन्छु,
मैले निर्वाचनमा होमिंदा नै आफुले पाउने कुनैपनि सेवा सुविधा नलिने र सेवासुविधा वापत प्राप्त हुने रकमलाई समाजमा नै परिचालन गर्ने वाचा गरे अनुरुप म निर्वाचित भइसकेपछि तिलोत्तमा नगरपालीकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छु । साथै जनताको माग बमोजिम नगर प्रमुख भइसके पश्चात नगरपालीका मार्फत सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरुलाई सरकारले प्रदान गर्दै आएको १५ रुपैयांको खाजामा १० रुपैयां थपेर २५ रुपैयांका दरले हरेक विद्यार्थीहरुले खाजा खान पाउने सुविधा प्रदान गरिरहेको छु । कक्षा ६ का विद्यार्थीहरुलाई समेत खाजा सुविधा उपलब्ध गराउन पर्छ भनी हरेक सामुदायिक विद्यालयका कक्षा ६ का विद्यार्थीहरुले समेत २५ रुपैयांकै दरले नि:शुल्क खाजा खाइरहेका छन् ।
तिलोत्तमा नगरपालीका सडक आश्रित मानवमुक्त पालीका बनाउने उद्धेश्यले मानव सेवा आश्रमको भवन निर्माण गर्ने कार्यमा सहयोग गरि सडकापेक्षी मानवको उद्धार गरि आश्रममा राख्ने काम गरिएको छ । म नगर प्रमुख भइसकेपछि तिलोत्तमा नगरपालीकाले लगातार राष्ट्रिय स्तरमै उत्कृष्ट स्थान प्राप्त गर्दै आइरहेको छ । अन्तर्राष्ट्रिय फोरममा समेत नगरपालीकाको नाम परिचित गराउने, अवार्ड जित्ने काममा म दिनरात खटिएको छु । मैले कुनै गलत तरिकाले धन आर्जन गरेर मेरो घर बनाएको होइन । मेरो बुवाले पसिना बगाएर बनेको मेरो घर जलेको हो । त्यती मात्र होइन, सम्पुर्ण जनताले तिरेको करबाट संकलित पैसाले कार्यालय तथा सेवा प्रवाहका क्षेत्र निर्माण भएका थिए, ती जलेका हुन् ।
भाईबहिनीहरु मेरो आग्रह छ, जसले सार्वजनिक सम्पत्ती, सरकारी कार्यालय तथा निजी क्षेत्र जलाएका छन्, ती व्यक्तिलाई कारवाही होस् । मेरो निष्ठा, मेरो इमान र मेरो सेवा भावमाथि प्रश्न उठाउने जो कोहीलाई इतिहांसले मुल्यांकन गर्नेछ । मेरो भौतिक सम्पत्तिमाथि जति नै ठुलो क्षती भएतापनि मेरो आत्मसम्मान र देशप्रतिको मायामा कसैले डढेलो लगाउन सक्दैन ।
जय नेपाल ।
कमेन्ट गर्नुहोस्