
चरङ्गे।किराना तथा प्लास्टिक व्यवसाय सङ्घ भैरहवा, रूपन्देहीले शनिबार वार्षिक कार्ययोजना तय गरेको छ। जिल्लाको चरङ्गेमा भेला भएर संघले २०८२/८३ सालका लागि लागु गर्ने विभिन्न कार्यक्रम पारित गरेको हो।वि.सं. २०८१ मा स्थापना भएको यस संघले सुरुदेखि नै व्यवस्थित र गुणस्तरीय व्यापारिक वातावरण निर्माण, सदस्य व्यापारीबीचको एकता अभिवृद्धि र उपभोक्तामुखी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ। “गुणस्तरीय शुद्ध व्यापार र शिक्षा, निरोगी र स्वस्थ हाम्रो सबैको इच्छा” भन्ने मूल नारालाई आत्मसात् गर्दै संघले समाजमा सकारात्मक प्रभाव पार्ने गतिविधि सञ्चालन गर्ने तयारी गरेको छ।
कार्ययोजना अनुसार संघले व्यापार प्रशिक्षण, व्यवसाय अभिमुखिकरण, सचेतना कार्यक्रम, सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य र शिक्षा सम्बन्धी पहल, साथै व्यापारीहरूको हकहितका लागि पहल गर्ने संघका अध्यक्ष टंक प्रसाद पाैडेलले बताए ।यससँगै स्थानीय तहसँग सहकार्य गर्दै व्यापारिक क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउन योगदान पुर्याउने प्रतिबद्धता समेत गरिएको छ।
संघका पदाधिकारीहरूले स्वस्थ प्रतिस्पर्धा, व्यावसायिक अनुशासन र उपभोक्ताको विश्वासलाई केन्द्रमा राखेर काम गर्ने बताए। वार्षिक कार्ययोजना सार्वजनिकसँगै संघले व्यापारी र उपभोक्ताबीचको विश्वास मजबुत पार्ने, व्यापारिक वातावरणलाई सबलीकरण गर्ने र आगामी दिनमा अझ प्रभावकारी गतिविधि गर्ने लक्ष्य लिएको सचिव झबिन्द्र बेल्बसेले जानकारी दिए।
कमेन्ट गर्नुहोस्