लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल आयल निगमले रुपन्देहीमा नयाँ अत्याधुनिक इन्धन डिपो बनाउने

IMG

नेपाल आयल निगमले रुपन्देहीमा अत्याधुनिक सुविधा सम्पन्न प्रादेशिक इन्धन डिपो निर्माण गर्ने जनाएको छ ।बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निगमले भण्डारण क्षमता अभिवृद्धि परियोजना अन्तर्गत रोहिणी र ओमसतिया गाउँपालिकामा रहेको करिब साढे २५ बिगाहा क्षेत्रफलमा सुविधा सम्पन्न प्रादेशिक इन्धन डिपो निर्माण गर्न लागिएको जनाएको हो । इन्धन डिपो निर्माणका लागि काठमाडौं विश्वविद्यालयले तयार गरेको डिपिआर निगमलाई हस्तान्तरण समेत गरिएको छ ।


परियोजनाको ११ विघा जमिन खरिद गरिएको र थप साढे ८ बिगाहा पर्ति जग्गालाई निगमको स्वामित्वमा ल्याउन गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमार्फत पहल भइरहेको निगमले जनाएको छ । उक्त परियोजनाका लागि कर बाहेक कुल ५ अर्ब ७९ करोड ३० लाख ८४ हजार ९४९ रुपैयाँ ५६ पैसा लागत अनुमान गरिएको नेपाल आयल निगमका भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख प्रदिप कुमार यादवले बताए । निर्माण हुने नयाँ डिपो अत्याधुनिक र सुविधा सम्पन्न हुने उनले जानकारी दिए ।


हाल रुपान्देहीको भलवारी डिपोमा पेट्रोल ५१९ किलोलिटर, डिजेल ३ हजार ४० किलोलिटर र मट्टितेल २८० किलोलिटर मात्र भण्डारण गर्ने क्षमता छ । नयाँ बन्ने डिपोमा ४५०० किलोलिटर क्षमताका तीनवटा डिजेलको भर्टिकल ट्याङ्क, २१०० किलोलिटर क्षमताका २ वटा तथा ७६० किलोलिटर क्षमताको पेट्रोल ट्याङ्क र ७६ किलोलिटरमा ३ वटा मट्टितेलका भर्टिकल ट्याङ्क रहने निगमले जनाएको छ ।

कमेन्ट गर्नुहोस्