
शारदा शाही,तिलोत्तमा। निर्माणकर्मीहरूको एकमात्रै आधार, काउनले दिलाउँछ सम्मान र अधिकार" भन्ने मूल नाराका साथ नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) तिलोतमा नगर समितिले मनायो २५ औँ स्थापना दिवस (रजत महोत्सव) ।संघले हिजो रक्तदान कार्यक्रम गरी २५ औँ स्थापना दिवसको उद्घाटन कार्यक्रम गरेको थियो। सोमबार बिहान र्यालीबाट सुरु भएको कार्यक्रममा नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ 'काउन' का केन्द्रीय अध्यक्ष प्रदीप आचार्यको प्रमुख अतिथ्यता, तिलोतमा नगरपालिका प्रमुख रामकृष्ण खाण र उपप्रमुख जगेश्वर चौधरीको विशिष्ट अतिथ्यता रहेको थियो।
नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ २०५८ साउन २५ गते सेमरा बजारमा भवन निर्माणकर्मी सङ्घका नामबाट स्थापना भई २०६५ सालमा नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घको नामबाट श्रम मन्त्रालयको श्रम विभागमा दर्ता भएको थियो। हाल यो सङ्घको आफ्नै भवन छ। भवनबाट दुईजना कर्मचारीले श्रमिकहरूलाई सेवा सुविधा प्रदान गर्दै आइरहेका छन् तर यो सुविधा प्राप्त गर्नको लागि श्रमिकहरुलाई करारनामा र परिचय पत्र अनिवार्य गरिएको छ।
हाल सङ्घमा १ हजार ७ सय ५० जना श्रमिकहरू आबद्ध रहेका छन्। जसमा ५ सय ९८ जना पुरुष र २ सय १४ जना महिला सक्रिय रुपमा रहेका छन्। संघले सुत्केरी भत्ता, औषधि उपचार खर्च, दुर्घटना बीमा त्यस्तै मृत्यु पश्चात क्रिया खर्च जस्ता कार्यहरू श्रमिकहरूको सुविधाको लागि लागू गरेको छ। त्यसैगरी संघले श्रमिकहरूको स्वास्थ्यको ख्याल राख्दै बेलाबेला स्वस्थ शिविर राख्ने अवलोकन भ्रमण लैजाने र सचेतनामूलक तालिमहरू सञ्चालन गर्ने पनि गर्दै आइरहेको छ।
कार्यक्रममा सङ्घले संस्थापक अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिव लगायत कार्यसमिति सदस्यहरूलाई दोसल्ला ओडाई कदरपत्र प्रदान गरेको थियो। त्यसैगरी विभिन्न कार्यहरूमा सहयोग गर्दै आइरहनुभएका विभिन्न व्यक्तिहरूलाई सम्मान पनि गरिएको थियो। र एसइइमा उत्कृष्ट अङ्क ल्याउने दुई विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो।
कमेन्ट गर्नुहोस्