लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तराईमा अत्यधिक गर्मी हुने, लुम्बिनीमा तातो हावाको लहर चल्ने चेतावनी

IMG

तिलोत्तमा।तराईका धेरै ठाउँमा आज र भोलि अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले विषेश बुलेटिन निकालेर सावधानी अपनाउन सबैमा अनुरोध गरेको हो । विभागका अनुसार मधेश प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँमा अत्यधिक गर्मीको सम्भावना छ ।


लुम्बिनी प्रदेशका तराईका भू–भागहरूमा तातो हावा तथा तातो लहरकोसमेत सम्भावना रहेको हुनाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै ठाउँमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र त्योभन्दा बढी मापन भएको छ ।यस्तै मधेश प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँहरुमा ३८ डिग्री सेल्सियस वा त्योभन्दा बढी तापक्रम भएको छ । तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुने लगायतका समस्या देखिन सक्छ ।


तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढी नजान, बाहिर जानुपर्दा हल्का तथा सुती कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्ने टोपी लगाउन, नियमित र पटक–पटक पानी तथा जुस, सर्वत प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सम्पर्कमा रहन महाशाखाले अनुरोध गरेको छ ।


कमेन्ट गर्नुहोस्