लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अवैध भरुवा बन्दुकसहित पक्राउ

IMG

कपिलबस्तु । कपिलवस्तुमा लागूऔषध ओसारपसार मुद्दामा पक्राउ परेका छोराका सम्बन्धमा थप प्रमाण खोज्न घर पुगेको प्रहरी टोलीले बाबुलाई नै अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको छ । वाणगंगा नगरपालिका–१ बैरियाका ५८ वर्षीय गंगाराम थारु आफ्नै घरबाट पक्राउ परेका हुन् ।इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले गंगारामको घर खानतलासी गर्दा उनी सुत्ने कोठामा लुकाइराखेको अवस्थामा एक थान अवैध भरुवा बन्दुक फेला पारेको हो। बन्दुक बरामद भएपछि गंगारामलाई नियन्त्रणमा लिइएको कपिलबस्तुका प्रहरी प्रवक्ता डिएसपी मोहनमणी अधिकारीले जानकारी दिनुभयो ।


प्रहरीका अनुसार गंगारामका २५ वर्षीय छोरा प्रकाश थारुलाई चैत्र १७ गते सीमा क्षेत्रबाट लागूऔषध (ब्राउन सुगर) सहित पक्राउ गरिएको थियो। इलाका प्रहरी कार्यालय पकडीको टोलीले मायादेवी गाउँपालिका–३ बरगदवामा लु ९ प २७७१ नम्बरको मोटरसाइकल जाँच गर्दा ट्याङ्कीभित्र लुकाइएको ४ ग्राम ५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । सोही लागूऔषध मुद्दाको अनुसन्धानका क्रममा थप प्रमाण जुट्न सक्ने आशंकामा प्रहरीले प्रकाशको घरमा खानतलासी गर्ने अनुमति लिएको थियो । खानतलासीकै क्रममा बाबु गंगारामको कोठाबाट अवैध बन्दुक बरामद भएको डीएसपी अधिकारीले बताउनुभयो । पक्राउ परेका गंगाराममाथि हातहतियार तथा खरखजाना ऐन अन्तर्गत मुद्दा चलाइने र छोरा प्रकाशमाथि लागूऔषध ऐन अन्तर्गत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

कमेन्ट गर्नुहोस्