लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देवदहमा ऐतिहासिक रामनवमी मेला सुरु

IMG

देवदह । देवदह नगरपालिका–४ भवानीपुरमा शनिबारदेखि रामनवमी मेला सुरु भएको छ। चैत २३ देखि २५ गतेसम्म तीन दिन चल्ने यो मेला परम्परादेखि नै चल्दै आएको हो। मेलाको उद्घाटन गर्दै देवदह नगरपालिका नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले मेला, महोत्सव र सांस्कृतिक सम्पदालाई नगरको मूल्यवान सम्पत्ति भएको बताइन्। उनले देवदहका पुरातात्त्विक क्षेत्रको उत्खनन भइसकेको र पर्यटकीय क्षेत्रको डिपिआरसमेत तयार भइसकेको अब भवानीपुरलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा अघि बढाउने योजना बनाइएको बताइन्।कार्यक्रममा पूर्व नगरप्रमुख हिरा बहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, नगर प्रवक्ता गणेश डुम्रे, पर्यटनविद् युवराज कडेल, महामाया भवानी माविका प्राचार्य ऋषिश्वर अर्याल, जनप्रिय माविका अध्यक्ष अमर लामिछाने लगायतले शुभकामना मन्तव्य राखे।


मेला आयोजक संस्था कोलिय राज्य बुद्ध मावली क्षेत्र विकास समितिका अध्यक्ष लिल्लाबल्लभ भट्टराईले मेलाको ऐतिहासिक र सांस्कृतिक महत्वबारे बताए।  उनीले मेला परम्परागत रूपमा लाग्दै आएकोले यसको संरक्षण, प्रचारप्रसार, पर्यटन प्रबर्द्धन र सामुदायिक सहभागिता वृद्धि गर्न आवश्यक रहेको बताए ।मेलामा थारु समुदायको परम्परागत खेल टिकुली दौड, भजन प्रतियोगिता र अन्य मौलिक सांस्कृतिक गतिविधि सञ्चालन गरिँदैछ। सांस्कृतिक संयोजक दिनेश चौधरीले नयाँ पुस्तालाई संस्कृति र पहिचानप्रति सचेत गराउने उद्देश्यले विविध प्रतियोगिताहरु राखिएको बताए। मेलामा हुने भजन प्रतियोगिताको व्यवस्थापन उज्यालो लालटिन प्रतिष्ठानले गरेको छ।


मेला हेर्न रुपन्देही, नवलपरासी, कपिलवस्तु र भारतका विभिन्न क्षेत्रबाट भक्तजन आउँछन्। आयोजकको अनुमानमा ५० हजार दर्शकले मेला अवलोकन गर्नेछन् भने ५० देखि ६० लाख रुपैयाँ बराबरको व्यापार हुनेछ। २ सयभन्दा बढी व्यावसायिक स्टलहरू मेलामा रहेका छन्।कार्यक्रम लिल्लाबल्लभ भट्टराईको अध्यक्षता, छबिलाल घर्ती र दिनेश चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो।मेलामा स्वतन्त्र भूतपूर्व सैनिक कल्याणकारी परिवार, नेपाल मगर संघ, आमा समूह, स्थानीय युवा क्लब लगायतका संघसंस्थाले नि:शुल्क स्वास्थ्य शिविर, प्राथमिक उपचार, नि:शुल्क पानीको व्यवस्थापन गरेका छन् ।

कमेन्ट गर्नुहोस्