
बुटवल। बुटवलमा शुक्रबारदेखि दोश्रो लुम्बिनी मिडिया सम्मेलन २०८१ सुरु भएको छ । मिडिया सम्मेलनमा सञ्चार माध्यमहरुका समस्या र चुनौती पहिल्याउँदै अवसर र सम्भावनाको खोजी गर्ने लक्ष्य राखिएको छ ।प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले आयोजना गरेको दुई दिने मिडिया सम्मेलनमा पछिल्लो समय मिडियाहरु समस्यामा परिरहेको बेला समस्याको पहिचान गरी समाधानको प्रयास गर्ने लक्ष्य राखिएको छ ।
मिडिया सम्मेलनको उदघाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा सञ्चार ग्राम बनाउने आफ्नो धेरै पहिलेदेखिको चाहना रहेको बताउँदै आफ्नै कार्यकालमा सञ्चार ग्रामले पूर्णता पाउने प्रतिवद्धता जनाउनुभयो । उहाँले बुटवललाई शिक्षा र स्वास्थ्य क्षेत्रको हबको रुपमा विकास गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै मिडिया सम्मेलनले बुटवलको सम्भावना पहिचान गर्दै विकासमा सहयोग गर्ने अपेक्षा गरे ।
उनले बुटवल धार्मिक, ऐतिहासिक तथा प्राचीन सभ्यताको सहर रहेको चर्चा गर्दैै बुटवलकै बाटो भएर लुम्बिनीदेखि मुक्तिनाथसम्म जान सकिने भएकोले यसलाई आर्थिक केन्द्रको रुपमा विकास गर्न सकिने बताए ।कार्यक्रमको बन्द सत्रमा बोल्दै नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष निर्मला शर्माले मिडियाको विश्वसनियतामाथि पछिल्लो समय प्रश्न उठिरहेकोले मिडियाहरु जनताप्रति जवाफदेही बन्दै सही र तथ्यपरक सूचना प्रवाहलाई प्राथमिकता दिन आग्रह गरिन् ।सोही अवसरमा बोल्दै महासंघका पूर्व अध्यक्ष विपुल पोखरेलले मिडियामा शुद्धिकरण आवश्यक रहेको भन्दै आफ्नो कार्यकालबाटै अभियान सुरु गरेको बताउँदै आगामी दिनमा मिडियालाई जवाफदेही र जिम्मेवार बनाउनुपर्ने खाँचो औंल्याए ।
सम्मेलन आयोजक प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले पछिल्लो समय धेरै मिडिया बन्द हुने र पत्रकारहरु विस्थापित हुने अवस्था आएको भन्दै मिडिया क्षेत्रका समस्या समाधानमा सहयोग पुगोस् भन्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए ।दुई दिने मिडिया सम्मेलनमा छापा माध्यम, किन र कसका लागि ? भन्ने विषयमा छलफल हुने छ भने के अनलाइन पत्रकारिता सधैका लागि हो ? भन्ने विषयमा छलफल गरिने छ । त्यसैगरी किन फस्टाउन सकेन विज्ञापन बजार ? भन्ने विषयमा छलफल हुने छ ।सम्मेलनमा नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियार, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का र गीत संगीत रोयल्टी संकलन समाजका सुरेश अधिकारीले प्रस्तुती राख्ने कार्यक्रम रहेको संघका अध्यक्ष कुँवरले जानकारी दिए ।
मिडिया सम्मेलनले सञ्चार माध्यमहरुको विद्यमान अवस्था, अव गर्नुपर्ने काम र भावी कार्यदिशा तय गर्ने गरी ठोस कार्ययोजना बनाउन सहयोग गर्ने संघका सचिव माधव नेपालले बताउनुभयो ।संघका उपाध्यक्ष विष्णु भुसालले सम्मेलन मिडियाको भविष्यका लागि कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
कमेन्ट गर्नुहोस्