लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मासु ब्यवसायी संघ रूपन्देहीको १४ औँ बार्षिक साधारणसभा सम्पन्न

IMG

तिलोत्तमा।मासु व्यवसायी संघ रुपन्देहीको २० औँ स्थापना दिवस तथा चौधौँ वार्षिक साधारणसभा मंगलबार बुटवलमा सम्पन्न भएको छ । साधारण सभाको एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे ।


सोही अवसरमा नगर प्रमुख पाण्डेयले देशभित्रै उत्पादन भएको मासुजन्य पदार्थको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए । भारतबाट कुखुरा र माछाको अवैध आयात हुँदा यहाँका व्यवसायी मारमा परेको उनले बताए । आधुनिक पशु बधशाला सञ्चालनका लागि उपमहानगरपालिका लचिलो बन्न तयार रहेको उनले बताए । नगर प्रमुख पाण्डेयले बंगुर पालनमा लागेका किसानहरुले बिभिन्न रोगका कारण नोक्सानी व्यहोरीरहेको अवस्थामा पशुबिमा जरुरी रहेको बताए । मासुजन्य व्यवसायलाई व्यवस्थित गर्ने स्पष्ट खाका ल्याउन आग्रह गर्दै उनले मासु व्यवसायीहरुका समस्या समाधानका लागि बुटवल उपमहानगर छलफलका लागि तयार रहेको बताए । मासु व्यवसायीहरुले उपभोक्ताको हितमा ध्यान दिन आग्रह गर्दै नगर प्रमुख पाण्डेयले साना मासु व्यवसायीहरुलाई संरक्षण र ठूला ब्यवसायीलाई सम्मान गर्ने उपमहानगरपालिकाकाे नीति रहेको बताए । उनलेे मासु ब्यवसायीहरूकाे ब्यवसाय प्रवर्द्धन गर्न उपमहानगरपालिकाले ३० लाख बजेट छुट्टाएको जानकारी गराउदै उक्त रकम कसरी परिचालन गर्ने भन्ने बिषयमा ब्यवसायीहरूलेनै योजना ल्याउन आग्रह गरे ।


कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता तथा मासु व्यवसायी संघ रुपन्देहीका कानुनी सल्लाहकार यमलाल खनालले कानुन परिमार्जन गरी मासु व्यवसायीलाई सहभागी गराएर बधशाला सञ्चालनको वातावरण तयार गर्नुपर्ने बताए । साना व्यवसायीहरु पलायन भइरहेको अवस्थामा उपभोक्ता र व्यवसायीहरुको हितका लागि लागि आवश्यक सहजीकरण गर्न तयार रहेको उनले बताए ।यस्तै उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकले उपभोक्तालाई स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउनुपर्ने बताउँदै खाद्य बस्तुमा हुने मिसावट रोक्नुपर्नेमा जोड दिए ।बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष विमलराज भट्टराईले उपमहानगरपालिकाले आर्थिक ऐन विपरीत साइन बोर्ड करको नाममा गैर कानुनी आतंक मच्चाएको बताए । उपमहानगरको नेतृत्वले ठेकेदारलाई ६० स्क्वायर फुट सम्मको बोर्डको कर नलिन निर्देशन दिन आग्रह गरे ।


कार्यक्रममा मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष विशाल थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजना र कार्यक्रमहरुबारे जानकारी गराए । खुला सीमानाबाट अवैधरुपमा भित्राइने कुखुरा, खसी बोका र माछालाई नियन्त्रण गर्न नसक्दा यहाँका मासु व्यवसायी र मासुजन्य कृषि उत्पादनमा लागेका किसानहरु मारमा परेको उनले बताए । बधशाला सञ्चालनको सन्दर्भमा देखिएको दुविधा र व्यवसायी तथा तथा बुटवल उपमहानगरपालिका बिच बढेको विवाद अन्त्य भई सकेको उनले बताए । सिमित व्यवसायीको संलग्तामा २० हजार संख्यामा बोइलर पालन व्यवसाय अघि बढेको बताउँदै अध्यक्ष थापाले आगामी दिनमा कुखुरा पालन, बाख्रा पालन, बंगुर पालन, भैसी पालन र माछा पालनमा व्यवसायीहरुलाई सहभागी गराई आयआर्जन सँगै राष्ट्रिय आयमासमेत टेवा पु¥याउने लक्ष्य लिएको बताए ।


कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष आरपी आचार्य,बुटवल उपमहानगरपालिका पशुपंक्षी शाखा प्रमुख झविन्द्र बन्जाडे, कुखुरा पालक किसान संघ रुपन्देहीका अध्यक्ष ऋषिराम काफ्ले,घरबहाल सरोकार संघ रुपन्देहीका अध्यक्ष राजु लिगल,मासु ब्यवसायी संघ रूपन्देही सल्लाहकार थानेश्वर घिमिरे लगायतले आआफ्नो भनाई राखेका थिए । साे अवसरमा बिभिन्न व्यवसायीहरुलाई सम्मान गरीएको थियो । संघका उपाध्यक्ष गोपाल क्षेत्रीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम महाससचिव थानेश्वर सुवेदीले सहजिकरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्