लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल–गोरुसिंगे सडकनिर्माणले गति लिंदै

IMG

तिलोत्तमा।नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले बुटवल–गोरुसिंग सडक निर्माण कार्यले गति लिएको छ । उक्त योजना अन्तर्गत ५० किलोमिटर लामो सडकलाई शहरी क्षेत्रमा ६ लेन र ग्रामीण क्षेत्रमा ४ लेनमा स्तरोन्नति गरिनेछ ।विश्व बैंकको ९२ प्रतिशत र नेपाल सरकारको ८ प्रतिशत लगानी रहेको यस योजनाले पूर्व–पश्चिम राजमार्गमा यातायात प्रवाह सुधार गर्ने लक्ष्य लिएको छ । हाल बुटवलदेखि गोरुसिंगेसम्मको ५० किलोमिटर सडक स्तरोन्नति कार्य दुई ठेक्कामा विभाजन गरिएको छ ।


खण्ड एक (बुटवल–कोठीनदी पुल, २५ कि.मी.) र खण्ड दुई (कोठीनदी पुल–गोरुसिंगे, २५ कि.मी.) अन्तर्गत विभिन्न पूर्वाधार निर्माण भइरहेको छ । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रूपैयाँमा काम पूरा गर्ने गरी गत असार १३ गते ठेक्का पाएका थिए । ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र सडक निर्माण सक्ने सम्झौता छ । हालसम्म ३३३४ रुखमध्ये ३१८९ रुख कटान भइसकेका छन्, पुल निर्माण कार्य अघि बढिरहेको छ, र ४ किलोमिटर क्षेत्रमा क्लियरिङ तथा ग्रबिङ कार्य सम्पन्न भएको छ ।


योजना कार्यान्वयनका क्रममा सडक सीमाभित्रका संरचना हटाउने, विद्युत् पोल र खानेपानी पाइप स्थानान्तरण, ट्राफिक व्यवस्थापन, तथा वातावरणीय प्रभाव व्यवस्थापन जस्ता चुनौतीहरू छन् । सडक निर्माण गुणस्तरमा कुनै सम्झौता नगर्नका लागि साइट क्लियरन्स, आवश्यक जनशक्ति, उपकरण, र निर्माण सामग्री सुनिश्चित गर्ने प्रयास भइरहेको छ ।योजनाको प्रगति, चुनौती र आगामी योजना बारे छलफल गर्न जिल्ला प्रशासन कार्यालय, तौलिहवामा आइतवार एक विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले समयमै निर्माण कार्य सम्पन्न गरी उदाहरण पेश गर्न आग्रह गरे । उनले सबै सरोकारवालाहरूको सक्रिय सहभागिता र समन्वय आवश्यक रहेकोमा जोड दिए ।योजना प्रमुख इञ्जिनीयर कुशलता न्यौपानेले हालसम्मको निर्माण प्रगतिबारे जानकारी दिँदै आगामी कार्ययोजनाका विषयमा प्रकाश पारेकी छन् । उनका अनुसार निर्माण कार्य निर्धारित मितिभित्र सम्पन्न गर्न आवश्यक समन्वय र स्रोत साधन परिचालन भइरहेको छ ।

कमेन्ट गर्नुहोस्