लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिद्धबाबा मन्दिरमा महाशिवरात्रीको तयारी पुरा:५० हजार बढी भक्तजन भित्राउने लक्ष्य

IMG

तिलोत्तमा। महाशिवरात्री पर्वका अवसरमा सिद्धबाबा मन्दिरमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।मंगलबार सिद्धबाबा मन्दिर विकास समितिले पत्रकार सम्मेलन आयोजना गरी भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।महाशिवरात्रीको अवसर पारेर पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित मन्दिरलाई चिटिक्क सिँगारिएको छ ।


मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको सहजताका लागि टोकन र निःशुल्क बसको व्यवस्थासमेत गरीएको मन्दिर विकास समितिका अध्यक्ष सन्तोषकुमार शेरचनले जानकारी दिए । उनका अनुसार वृद्धवृद्धा, अशक्त, असाहयहरुले भने सिधैं मूल मन्दिरमा गएर पूजा गर्न सक्नेछन् ।दर्शनार्थीहरुको सुरक्षाका लागि ३० जना सुरक्षाकर्मी, १५० बढी स्वंयसेवक र १८ वटा सिसी क्यामेराले निरन्तर निगरानी गर्ने अध्यक्ष शेरचनले बताए । उनका अनुसार सिद्धबाबा क्षेत्रमा सरसफाइ, शौचालय, पार्किङ, भण्डारा, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको सहज पहुँचको प्रबन्ध मिलाइएको छ ।गतवर्षको शिवरात्रीमा ३५ हजार बढी भक्तजनले दर्शन गरेको बताउँदै अध्यक्ष शेरचनले यो वर्ष ५० हजार बढी भक्तजन भित्र्याउने गरी तयारी गरिएको बताए ।


भक्तजनहरूलाई दर्शनका लागि बिहान ४ बजेदेखि नै मूल मन्दिर खुला गरिने प्रचारप्रसार संयोजक अरबिन्द पाण्डेले जानकारी दिए । विगतमा भक्तजनहरु २ देखि ३ घण्टासम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेकोमा यसबर्ष ४ वटा लाइनको व्यवस्था गरी १ घण्टा भित्रमै दर्हन गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए ।मन्दिरमा दर्शन गर्न जाने भक्तजनका लागि बुटवलका विभिन्न ठाउँबाट दुई वटा निःशुल्क र ७ वटा सशुल्क बसको व्यवस्था मिलाइएको महाशिवरात्रि मेला संयोजक तोया लम्सालले बताए ।


बुटवलको योगीकुटी, कालिकानगर, अस्पताल लाइन, देबिनगर, शान्ति चोक, मिलनचोक, ट्राफिक चोक र गोलपार्कबाट बस छुट्नेछन् । भक्तजनलाई दिनभर यातायात सेवा उपलब्ध गराउने लम्सालले बताए ।सिद्धबाबालाई पश्चिम नेपालको पशुपतिका रुपमा विकास गर्ने गरी मुख्य मन्दिरको जिर्णोद्धार गर्न लागिएको अध्यक्ष शेरचनले बताए ।धार्मिक तथा ऐतिहासिक क्षेत्र सिद्धबाबामा नेपालका विभिन्न जिल्लाहरुसँगै भारतबाट समेत भक्तजन आउने गरेका छन् ।

कमेन्ट गर्नुहोस्