
तिलोत्तमा,५ फागुन । बिल्कुलै फरक वातावरणमा अर्गानिक स्वाद पस्कनेगरी रुपन्देहीको तिलोत्तमा नगरपालिकामा यार्सा अर्गानिक हाउस सञ्चालनमा आएको छ । प्रकृतिसंग स्वादको भेट गराउने नारासहित दुई कोरिया रिर्टनी युवाहरुको लगानीमा यार्सा अर्गानिक हाउस तिलोत्तमाको मणिग्राम विकास पथमा सञ्चालनमा ल्याएका हुन् । युवा व्यवसायीहरु सुरेश क्षेत्री र विष्णु घिमिरेको ६० लाख संयुक्त लगानीमा यार्सा अर्गानिक हाउस सञ्चालनमा ल्याईएको हो । हाउसले १३ जनालाई प्रत्यक्ष रोजगारीमा समेत जोडेको छ । गुणस्तर र सर्वसुलभ अर्गानिक स्वाद दिने उद्देश्यसहित एकदमै फरक व्यवस्थापनमा हाउस सञ्चालनमा ल्याईएको सञ्चालक सुरेश क्षेत्रीले जानकारी दिए। मौषमी तथा बेमौषमी तरकारहीहरु उत्पादन गर्नको लागि टनेल हाउसमा बसेर ग्रीनरी हेर्दै आफैले साग टिप्दै खान पाउने व्यवस्था मिलाईएको उनले जानकारी दिए ।
‘कोरोनापछि व्यक्तिहरुमा अर्गानिक खानेकुराहरुप्रति रुचि बढिरहेको छ र हामी पनि अर्गानिक नै खुवाउने योजना बनाएका थियौँ । सोही कन्सेप्टलाई टिपेर यार्सा अर्गानिक हाउस सञ्चालनमा ल्याएका हौं। ’ उनले भने, टनेलभित्र बसेर खाना कुर्दै गर्दा सागपात आफै टिपेर खान मिल्ने व्यवस्था समेत मिलाएका छौं । ’उनले ग्राहकहरुलाई गुणस्तरीय खानेकुरा सक्दो सस्तो मूल्यमा व्यवस्थापन गर्ने योजना अनुरुप नै काम गरिरहेको बताउँदै ग्राहकको स्वास्थ्य र पैसा दुबै बचाउनेगरी व्यवस्थापन भईरहेको बताए । अहिलेको लागि कालिज, लोकल कुखुरा तथा माछा केजीको रुपमा किनेर विभिन्न परिकार बनाएर ग्राहकलाई पस्कीने बताउँदै सञ्चालक क्षेत्रीले पकाएको लागि न्यूनतम शुल्क लिने गरेको उनले जानकारी दिए ।
आईटी अध्ययन गर्दै गरेका विष्णु घिमिरेका छोरा सरोज घिमिरेले पनि हाउसको व्यवस्थापनमा सहयोग गर्दै आएका छन् । पछिल्लो समय देखिएको स्वास्थ्यप्रति सचेतको अवस्था हेर्दा अर्गानिकमा आकर्षण बढेको व्यवस्थापक सरोज घिमिरेले बताए । उनले आफुहरुको मेन्युमा रहेका अधिकांश कुराहरु आफै उत्पादन गर्दै आईरहेको बताए । होटल क्षेत्रमा १० वर्ष बढीको अनुभव बोकेका सुरेशले अहिले मौषमी र बेमौषमी तरकारीहरु लगाउनको लागि १ बिघा क्षत्रेफल जग्गामा टनेल तथा अन्य पूर्वाधारहरु निर्माण गरिरहेका छन् । क्षेत्रीको आफ्नै कालिज फर्म समेत रहेको छ । नगरपालिकामा यार्सा अर्गानिक हाउस उद्घाटनको अवसरमा सबै सेवामा १० प्रतिशत छुटको प्रबन्ध गरिएको उनले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्