लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मानव सेवा आश्रमको भवन निर्माणका लागि महायज्ञ,सडक मानवमुक्त बनाउने लक्ष्य

IMG

तिलोत्तमा,माघ ८। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले  रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ मा मानव सेवा आश्रमले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञको उद्घाटन गरेका छन् ।उनले मानव सेवा, विकास र उन्नतिको लागि महायज्ञको माध्यमबाट गरिएको  योगदानप्रति  प्रशंसा  गरे । प्रदेश सरकारले मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूको स्वास्थ्य उपचारका लागि स्वास्थ्यकर्मीको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । निर्माणाधीन आश्रमको भवनलाई पूर्णता दिनका लागि आयोजना गरिएको महायज्ञमा ३ करोडभन्दा बढी आर्थिक सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।


सात दिन सम्म चल्ने महायज्ञमा  कमलनयन गौतम प्रमुख कथा वाचक रहेका छन्। सबै धर्म तथा परम्पराका पण्डित, गुरुहरूको सामूहिक उपस्थिति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाँकी प्रदर्शन लगायतका कार्यक्रम राखिएका छन् । महायज्ञमा बिहान हरेक दिन ५ बजेदेखि ७ बजेसम्म योग समेत सञ्चालन गरिने छ । महायज्ञबाट सङ्कलित रकमबाट अक्षयकोष वृद्धि गर्ने लक्ष्य समेत राखिएको छ ।


०६९ सालमा स्थापना भएको आश्रमले हालसम्म देशभरका १० हजार ६ सय ८९ जना भन्दा बढी सहयोगापेक्षी सडक मानवको उद्धार गरी व्यवस्थापन गराइसकेको छ । आश्रमले सात वटै प्रदेशमा गरी २० जिल्लामा २४ वटा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ । मानव सेवा आश्रमले ०८२ सालभित्र नेपाललाई सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने तयारी गरेको छ ।

कमेन्ट गर्नुहोस्