
तिलोत्तमा,पौष २० गते।चोरी गरी ल्याइएका नदीजन्य पदार्थ (बालुवा) को विषयमा नवलपरासीको सुस्ता गाउँपालिकाको सीमा क्षेत्रमा सधैं प्रहरी र स्थानीयको लफडा हुने गरेको छ ।नारायणी नदीबाट बालुवा चोरी गरी लैजादैं गरेको अवस्थामा हरेक दिनजसो सशस्त्र, नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले पक्राउ गर्ने गरेको छ । तर, पक्राउ गरेका बालुवा बोकेका टेक्टरलाई छुटाउन कारोबारीहरुले केही स्थानीयलाई प्रयोग गरेर प्रहरीलाई घेरा हाल्न पठाउने गरेको पाइएको छ ।
सुरक्षकर्मी भन्दा स्थानीय धेरै भएपछि पक्राउ परेका टेक्टरलाई त्यसै छाडेर आउने गरिएको छ । कारोबारीहरुले त्यसरी नदीबाट निकालेका बालुवाहरु सीमा नाका हुँदै भारततर्फ पठाउने गरेका छन् । केही दिनअघि सुस्ताको रेवारेतामा ५ पटकसम्म बालुवा चोरी गरेर लैजादै गरेको अवस्थामा टेक्टर पक्राउ परेपनि स्थानीयले घेरा हालेर सुरक्षाकर्मीबाट फुत्काएर लगेको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताउनुभयो ।
नदीजन्य पदार्थ बोकेर आएका टेक्टरलाई समात्ने बित्तिकै केही स्थानीयहरु घरेलु हतियारसहित प्रहरीलाई घेर्न आउँने गरेको उहाँको भनाई छ ।यसैबीच बालुवा चोरी गरी भारततर्फ लैजान लागेको अवस्थामा शनिबार बिहान सुस्ताको वनकट्टी सीमा क्षेत्रबाट ५ टेक्टर बालुवा नियन्त्रणमा लिइएको छ । सशस्त्र, नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले उक्त बालुवा नियन्त्रणमा लिएको हो । त्यस क्रममा पनि केही स्थानीयहरुले बालुवा छोडाउन सुरक्षाकर्मीलाई अवरोध गरेको सशस्त्र प्रहरीको बर्डर आउट पोस्ट (बिओपी) बलिनगरका निरीक्षक सुवास अधिकारीले बताउनुभयो ।
पक्राउ परेका ५ टाली बालुवामध्ये २ वटा टालीको टायरको हावा खोलेका कारण ३ टाली बालुवा मात्र ल्याउन सकिएको सशस्त्र प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । यसैबीच स्थानीयले सुरक्षाकर्मीलाई अवरोध गरेर चोरी सामान लैजाने गरेको बारे प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले हुलका हुल आउने स्थानीयलाई सम्झाउने पहिलो काम स्थानीय तहको भएको बताउनुभयो ।अवरोध गर्ने मान्छे समातेर ल्याउँदैमा समस्या समाधान नहुने भन्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले स्थानीय तहले त्यसमा समन्वय गर्नुपर्ने बताउनुभयो ।
कमेन्ट गर्नुहोस्