लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कैलालीको टीकापुर विमानस्थल २७ बर्षपछि संचालनमा

IMG

तिलोत्तमा,मङ्सिर ३० गते।२७ वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थलमा आजदेखि उडान शुरु भएको छ । आज दिउँसो तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र १२ यात्रु टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा उडान शुरु भएको हो ।


२०४१ साल असोज २५ गतेदेखि सञ्चालनमा आएको विमानस्थल द्वन्द्व शुरु भएसँगै २०५३ साल माघदेखि बन्द हुन पुगेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो । पहिलो उडानमार्फत टीकापुर पुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा, उद्योग वाणिज्य सङ्घ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाइँलगायतले स्वागत गर्नुभएको थियो ।


विमान अवतरणका क्रममा सयौँको सङ्ख्यामा उपस्थित स्थानीयले भव्य स्वागत गरेका थिए । राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलको छिट्टै स्तरोन्नति गरी काठमाण्डौ–टीकापुर सिधा हवाई उडान नियमित सञ्चालन गरिने बताउनुभएको छ ।टीकापुर नगरपालिकाको विशेष पहलमा काठमाण्डौदेखि नेपालगञ्जसम्म यति एयरलाइन्समार्फत र नेपालगञ्जबाट ‘कनेक्टिङ फ्लाइट’मार्फत टीकापुर विमानस्थलसम्म तारा एयरले उडान गर्ने गरी व्यवस्थापन गरिएको टीकापुरका मेयर डगौराले जानकारी दिनुभयो । यो विमानस्थलमा हरेक हप्ताको आइतवार र बिहीवार काठमाण्डौ–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाण्डौ उडान हुनेछ ।


तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाण्डौबाट बिहान १० बजे यति एयरलाइन्सको विमान नेपालगञ्जका लागि उडान भर्नेछ भने त्यहाँबाट दिउँसो साढे १२ बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ । त्यसै दिन दिउँसो एब बजेर २० मिनेटमा तारा एयरको विमान नेपालगञ्जका लागि प्रस्थान गर्नेछ भने दिउँसो दुई बजेर ५ मिनेटमा यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाण्डौ अवतरण हुने तालिका छ ।  

कमेन्ट गर्नुहोस्