लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सामान्य कुरामै अर्घाखाँचीमा मामाले गरे भान्जाको विभत्स हत्या

IMG

तिलोत्तमा,२९ कात्तिक। देउसीमा बसले ठक्कर दिएको घटना सेलाउन नपाउदै अर्घाखाँचीको शितगंगा नगरपालिका-६, सानाढुंगेमा सामान्य विवाद हुँदा मामाले भान्जाको विभत्स हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार घटना मँगलबार रातीको हो । स्थानीय ५३ वर्षीय झन्द्रबहादुर गाहाले सोही ठाउँका भान्जा पर्ने ३५ वर्षीय तिलक रेग्मीको हत्या गरेका हुन् । गएको मंगलबार साँझ ५ बजे भने झन्द्र एक्लैले मदिरा सेवन गरेर भान्जा तिलकलाई अनावश्यक गाली गरेपछि भन्जा कारण बुझ्न मामाको घरमा पुगेका थिए । तिलकले आफ्नी श्रीमतिलाई मामाकोमा जान्छु भनेर हिँडे पनि भोलि विहानसम्म नआएपछि खोजी गर्दै जाँदा मामाको घर नजिकै मृत अवस्थामा फेला परेको थियो । घटना लगत्तै प्रहरीलाई खबर गरेपछि भएको अनुसन्धानमा मामा झन्द्रबहादुरले हत्या गरेको स्वीकार गरेका छन् । उनले सुरुमा भान्जा तिलकको टाउकामा ढुंग्रा प्रहार गरेको र बेहोस भएपछि घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन् । आफ्नै घरमा आएका भान्जालाई हत्या गरेपछि २ सय मिटर पर घिसारेर लगि फालेको उनले प्रहरी समक्ष बयान दिएका छन् ।  


यसरी खुल्यो घटनाको रहस्य : 

मामा झन्द्र र भान्जा तिलक दुबै जनाले मदिरा पिएर अन्य समयमा समेत सामान्य झगडा गर्ने गर्दथे । तर, उनीहरु बीच बोली बाराबारनै हुने तथा ठूलो झगडा भने कहिले पनि भएको थिएन । मँगलबारको साँझ भने भान्जा तिलकले मदिरा पिएका थिएनन्, उनी घरमै थिए, मामा झन्द्र भने मदिराले मातेर भान्जाको घरमा आएर उनलाई विभिन्न गाली गर्दै त्यहाँबाट निस्किए । मामाको गाली सुनेपछि आफ्नो कौतूहलता मेट्न तिलक मामा झन्द्रको घरमै गएर भेट्ने निणर्यमा पुगे । झन्द्रले गाली गरेको आधा घण्टापछि तिलक उनको घर पुगे ।


मामा घर जान्छु भनेर हिँडेको श्रीमान रातीसम्म पनि नफर्केपछि तिलककी श्रीमतिलाई लाग्यो मामा घरमै बसे होलान् । त्यसैले उनी राति श्रीमानको चिन्ता नलिई सुतिन् । तिलक बुधबार बिहान हुँदा समेत घर फर्किएपछि भने उनी श्रीमानको खोजीमा लागिन् । मामाससुरा झन्द्रको घर पुगेर उनले सोधिन्, ‘‘तिलक कहाँ गयो मामा ? हिजो यतै जाने भनेर आएको हो, घर फर्किएन ।’’  झन्द्रले जवाफ फर्काए, ‘‘हो, हिजो आएका थिए । साँझ नै फर्किएका हुन् । यता बस्नु भएन ।’’


त्यसपछि उनी मामा झन्द्रको घरबाट फर्कन लाग्दा त्यहीँ आँगनमा ढुंगामा रगत लत्पतिएको देखिन् । तर, श्रीमानको होला भन्ने शंका गरिनन् । उनी तिलक साथीको घर पो गए कि भनेर मनोजबहादुर गाहाको घर जाने बाटोतर्फ लागिन् । बाटोमा समेत रगतका टाटाहरू देखिन् । श्रीमानको खोजीका निम्ति हिँडेकी उनी बाटोभरि रगत देखिपछि चिन्तित बनिसकेकी थिइन् ।


रगतको टाटा देखिएको बाटो हुँदै हिँड्दा मनोजको घर नजिकैको अर्यान भीरपाखोमा तिलक ढलेको अवस्थामा देखिन् । दौडँदै उनी तिलक भएको ठाउँतिर पुगिन् । तिलकको शरीर छामिन् । सास फेरेको चाल पाइनन् । शरीर चिसो भइसकेको थियो ।शरीरका विभिन्न भागबाट रगत बगेको थियो । त्यसपछि उनले प्रहरीलाई खबर गरिन् । प्रहरी टोलीले हत्याको आशंका गर्‍यो । अनुसन्धान गर्दै जाँदा मामा झन्द्रले नै हत्या गरेको स्वीकार गरे । विवाद के विषयमा थियो र अन्य थप के–के घटना भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ । 

कमेन्ट गर्नुहोस्