लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

काग तिहार:तिहारको कथा

IMG

कागको बारेमा प्रसिद्ध संस्कृत श्लोक

काक आहृयते काकान्, याचको न तु याचकम्। काकयाचकयोर्मध्ये वरं काको, न याचक:।।

अर्थ: भोजन फेला पार्ने बित्तिकै प्रसन्न मनले कागले आफ्ना साथीहरूलाई पनि सँगै खान निम्तो दिन्छ तर मानिसको हकमा चाहिँ उनीहरू स्वार्थी हुन्छन् ।


कागका बारेमा

काग अर्थात् सन्देश प्रवाही प्राणी, काग करायो भनेँ केही सन्देश या पाहुना आउने जनाउका रूपमा नेपाली समाजमा लिने चलन अझै छ, हैन र ?


कागलाई विशेष गरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रूपमा लिइन्छ । धर्मशास्त्रहरू अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति अहिले पनि रहेको छ । तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरूलाई बिर्सिएर कागको पूजा गरिन्छ ।


आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागतिहारमा कागलाई घर आँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । आज कागतिहारकै दिन समुद्र मन्थनका बेला उत्पत्ति भएका आयुर्वेदका प्रवर्तकधन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरि दिवस पनि मनाइन्छ । आज यमदिप दान गर्नाले यमराजको यातनाबाट मुक्त हुने अर्को धार्मिक विश्वास छ । यमदिप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ ।


तिहारको कथा

सेल रोटीको मिठास अनि दियोको प्रकाशका साथै देउसी अनि भैलोका सङ्गीतहरू गुञ्जायमान यस पर्वको हर्षोल्लास अद्भुत छ, काग कुकुर, गाई, गोरु र दाजुभाइको पूजा क्रमैसँग यमपञ्चकका पाँच दिनमा गरिने यस तिहार पर्व मनाइनेका बारेमा धेरै किबंदन्तीहरु पाइन्छन् जस मध्य एकदमै प्रचलित कथा जसमा यम र उन् कि बहिनीको प्रसगं यहाँ प्रस्तुत गर्न जाँदै छौ ।


मृत्युका देवता यम आफ्नी बहिनी यमुनासँग धेरै समयदेखि भेट्न पाएका थिएनन्, यमुनालाई आफ्नो दाजुसँग भेट्ने धेरै इच्छा भएर विभिन्न माध्यमहरूमार्फत दाजुलाई भेट्न आउन निम्तो पटाइन्, उनले यम समक्ष सुरुमा काग अनि कुकुर, गाई अनि अन्त्यमा आफैँ गएर दाजुलाई भेटेको प्रसगं छ, दाजुलाई भेटेपछि उनले दाजुलाई टीका, फूल मालाले पूजा गरी रङ्गिन टिका निधारमा लगाएकी थिइन । तोरीको तेलले दाजु वरिपरि रेखा कोरेर मखमली फूलको र दुबोको माला लगाइदिई पूजा गर्दै भाइटिका लगाएकी थिइन् । त्यही क्रमलाई यमपञ्चकको पाँचौँ दिनमा भाइटिका लगाएपछि तिहारको विधीवत अन्त्य हुन्छ ।


काग तिहारमा बिहानैदेखि कागको पूजा गरिन्छ, घर बाहिर विभिन्न खानेकुराहरू पात या दुना टपरीमा कागका लागी भनेर राखिन्छ र वर्षभरि कागले घरआगनमा सुखद र प्रगतिशील खबर अनि भाग्यका कुराहरु मात्र ल्याओस् भनेर कामना गरिन्छ ।


घरघरमा झिलिमिली द्वारहरू बनाएर साँझमा दीप प्रज्वलन गरिन्छ, विभिन्न प्रकारका पटाकाहरू पड्काउने चलनका साथै तराईमा सन्ठी अर्थात् जुटको भित्र पटिको हलुका लट्टीहरूको मुठालाई बालेर खेतमा गएर हुक्का खेल्ने चलन छ । रमाइलोको यो माहौलमा सजग र सुरक्षीत रहन पनि एकदमै जरुरी छ । अर्कोतर्फ अब गाउँघरमा उत्साहित मान्छेहरूले उल्लासपूर्वक तिहारमा देउसी या भैलो कहाँ कहाँ खेल्ने, को को खेल्ने अनि के के गीत अथवा नृत्य प्रदर्शन गर्ने, कसले भट्ट्याउने आदि तैयारी सुरु भइसक्यो होला, ल है सबैलाई शुभकामना, यो तिहार उल्लासपूर्ण होस्। हामी सबैको आगनीमा सदासर्वदा कागले हर्ष र उत्साहको सुसमाचारहरू ल्याईरहोस, शुभकामना !

कमेन्ट गर्नुहोस्