लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दसैँ बिदामा पनि प्रेस काउन्सिलको नियमन

IMG

तिलोत्तमा,२०८१ असोज २३ गते।प्रेस काउन्सिल नेपालले दसैँको बिदामा समेत मिडियाको नियमनलाई निरन्तर दिने भएको छ । काउन्सिलले आज जारी गरेको प्रेस विज्ञप्तिमा दसैँ बिदाको समयमा आएका उजुरी, गुनासामा अनुगमन र सुनुवाइ हुने जनाएको छ।सह प्रशासकीय अधिकृत एवं सह प्रवक्ता रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा काउन्सिलको अनलाइन उजुरी प्रणाली तथा वेबसाइटमा उजुरीका लागि तोकिएको ठेगानामा इमेल गर्न सकिने उल्लेख छ ।


नेपाली मिडियाको नियमनकारी निकाय काउन्सिलले बडादसैँ, तिहार, छठलगायत राष्ट्रिय पर्वहरू र नेपाल संवत् ११४५ को अवसरमा सम्पूर्ण सञ्चार माध्यम, सञ्चारकर्मी, आमपत्रकार, सबै नागरिकप्रति शुभकामना प्रदान गरेको छ ।चाडपर्वहरूले राष्ट्रिय एकता, भातृत्व र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने उल्लेख गर्दै यसलाई कायम राख्न सञ्चारमाध्यमको अहम् भूमिका हुने काउन्सिलले जनाएको छ ।चाडपर्वका समयमा पनि सदा झै सही सूचना प्रवाह गर्ने सञ्चारकर्मी, पत्रकार एवं आमसञ्चार माध्यमको कर्तव्य र जिम्मेवारी रहेको उल्लेख गर्दै विज्ञप्तिमा गलत, समाजमा उत्तेजना/अफवाह फैलाउने, धार्मिक, सांस्कृतिक एवं सामाजिक सद्भाव बिगार्ने, हिंसा एवं आतङ्कलाई प्रशय दिने गरी समाचार सामग्री प्रकाशन प्रसारण नगर्न भनिएको छ ।


काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले मिडियाकर्मीले हरसमय तथ्यपूर्ण, मर्यादित र जिम्मेवार पत्रकारिता गर्नुपर्ने भएकाले काउन्सिलले बिदाको अवधिमा नियमनको काम जारी राख्ने निर्णय गरेको बताए।काउन्सिलले भ्रामक, अश्लील एवं अमर्यादित, वैयक्तिक गोपनीयता प्रतिकूलका सामग्री सम्प्रेषण नगर्न/नगराउन सञ्चारकर्मी, आमपत्रकार एवं सञ्चार माध्यमअन्तर्गत रहेका युट्युब च्यानल लगायतका सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्