लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा बधशाला चलाउन सकस, कृषक व्यवसायीको टकराव

IMG

तिलोत्तमा,२०८१ असोज १८ गते।बुटवल उपमहानगरपालिकाले निजी कम्पनीलाई वधशाला सञ्चालन गर्न दिएपछि मासु व्यवसायी र किसानसंग टकराव उत्पन्न भएको छ ।किसान र व्यवसायीसंगको सम्झौता रद्ध गरी टेण्डरमार्फत मुक्तिनाथ लाइभस्टक कम्पनीले ठेक्का पाएको वधशालामा गएर खसी–बोका बध गर्न मासु व्यवसायीले अस्वीकार गरेका छन् । उपमहानगरपालिकाले अनुगमनको नाममा मासु व्यवसायीलाई दैनिकजसो जरिवाना गर्न थालेको छ ।चाडपर्वको मुखमा निजी कम्पनीको फाइदाका लागि व्यवसायीमाथि अनुगमनको ‘ज्यादती’ भएको भन्दै व्यवसायीले पसल बन्द गरेर आन्दोलन गरेका छन् ।


मासु व्यवसायी संघ रुपन्देहीले शुक्रबार पत्रकार सम्मेलन गरी साना तथा मझौला व्यवसायीलाई स्वतन्त्रतापूर्वक व्यवसाय गर्न नपाउने र ठूला व्यवसायीको मात्रै एकाधिकार हुने गरी बनाइएको बधशाला सम्बन्धी ऐन तत्काल संशोधन गर्न माग गरेको छ ।उक्त ऐनले खसीबोका मात्रै बधशालामा बध गर्नुपर्ने भनेकाले ऐन अधुरो, अपुरो र विभेदकारी रहेको संघको तर्क छ । खसी बोकाबाहेक ठूलो मात्रामा खपत हुने कुखुरा, रांगा, बंगुर आदिबारे ऐनमा उल्लेख छैन ।


संघले खसी बोकासहित सबै प्रकृतिका मासुजन्य पशुपंक्षीलाई स्वास्थ्य जाँच गरेर मात्र बध गर्ने प्रावधान राख्न माग गरेको छ ।यस्तै बधस्थलको न्यूनतम मापदण्ड तयार गरी बधस्थललाई सुधार गर्नुपर्ने र सुधारिएका बधस्थलबाट सेवा सञ्चालन गर्न पाउने व्यवस्था गर्न माग गरेको छ ।व्यवसायीको आन्दोलनमा लुम्बिनी प्रदेशका ६ जिल्लाका करिब ३५ हजार बाख्रापालक महिला किसानको ऐक्यवद्धता छ । ती महिलाहरु बधशालाको मालिक भइने आशामा चार वटा कम्पनीमा आवद्ध भई बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिको सञ्चालक बनेका थिए ।


यो कम्पनीमा ३४ सहकारी, ४ इन्भेष्टमेन्ट कम्पनी गरी ५ हजार १ सय २६ शेयर सदस्य छन् ।स्वच्छ र स्वस्थकर मासु उपभोक्तालाई उपलब्ध गराउने विषयमा व्यवसायीको विमति नरहेको र उपमहानगरले तोके अनुसारको गुणस्तरीय मासु मात्रै उत्पादन र बिक्री गर्न आफूहरु तयार रहेको तर विभेदकारी र अन्यापूर्ण ऐनको आडमा अनुगमन आतंक स्वीकार्य नहुने संघका अध्यक्ष विशाल थापाले बताए ।मुक्तिनाथ लाइभस्टकले बधशालाको मासु बिक्रीका लागि बुटवलमा तीनवटा पसल सञ्चालन गरेपनि त्यहां उपभोक्ता खरिद गर्न गएका छैनन् ।


त्यसैले उपमहानगरले चाडपर्वको मुखमा अनुगमनको नाममा नगर प्रहरीसहित आएर व्यवसायीलाई आतंकित बनाएको थापाको गुनासो छ ।‘उपमहानगरको अनुगमनको उद्देश्य उपभोक्ताको स्वास्थ्यमा केन्द्रित हैन, आफूले ठेक्का दिएको कम्पनीको व्यापार कसरी बढाउने भन्नेमा छ’, थापाले भने ।दुई दिन सबै मासु पसल बन्द गरी राजनीतिक दल र व्यवसायिक संघसंस्थासंग छलफल गरी उपमहानगरको अनुगमन पनि अवज्ञा गर्ने बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका अध्यक्ष कृष्ण पौडेलले बताए ।


प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मासु व्यवसायीको माग सम्बोधन गर्नेबारे छलफल भएको बताए । तर उप–महानगरले प्रमुख जिल्ला अधिकारीसँग भएको छलफलको निचोड विपरित अनुगमनका नाममा आतंक सिर्जना गरेर जबर्जस्ती वधशालामा जान बाध्य पार्न खोजेको व्यवसायीको भनाइ छ । जबर्जस्ती गरिए व्यवसायी र किसान मिलेर साना र मझौलास्तरका छुट्टै वधशाला सञ्चालन गर्ने योजनामा उनीहरु छन् ।उनीहरुले वधशालाकै मापदण्ड र गुणस्तरको मासु उत्पादन गरी बेच्न आफूहरु तयार रहेको बताएका छन् ।


बाख्रापालक किसानकी प्रतिनिधि महिला उद्यमी हुमादेवी पौडेलले बुटवल उप–महानगरपालिकाको निर्णयले किसान, व्यवसायी र उपभोक्ता सबैलाई अन्याय र धोका भएको बताइन् ।‘हाम्रो २ करोड रकम दुई वर्षसम्म उपमहानगरपालिकाले विना ब्याज राख्यो, हामीलाई नै बधशाला चलाउन दिने कुरा पनि भयो तर पछि धोका दिएर सम्झौता तोड्यो’, उनले भनिन् । उपमहानरगकै बद्नियतले अहिले व्यवसायी र किसानसंग टकराव भएको उनको भनाइ छ ।


बुटवल उप–महानगरपालिका–१० रामनगरमा २ विघा ३ कठ्ठा क्षेत्रफलमा २३ करोड लागतमा वधशाला बनेको छ । लुम्बिनी प्रदेश सरकारले १६ करोड रुपैयाँ लगानी गरेको छ । अरु लगानी हेफर नेपाल र बुटवल उपमहानगरपालिकाको हो ।बुटवल उप–महानगरपालिकाका प्रवक्ता शिव रानाले प्रक्रियासम्मत ढंगले टेण्डरमा छनोट भएको कम्पनीले वधशाला सञ्चालन गरेको बनाए । उनले व्यवसायीको माग अनुसार ऐन संशोधन गर्न मिल्ने नमिल्ने बारे अध्ययन गरिरहेको पनि बताए ।


कमेन्ट गर्नुहोस्