तिलोत्तमा,२०८१ असोज १२ गते। तिलोत्तमा नगरपालिका–१५ कोटिहवा, रुपन्देहीमा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका कार्यबाहक अध्यक्ष गिरि प्रसाद पुनको उपस्थितिमा संस्थाका १० वटै शाखामा एकैपटक साधारणसभा सम्पन्न भएको व्यवस्थापक रन बहादुर थापाले बताउनुभयो। सभामा बोल्दै संस्थाका कार्यबाहक अध्यक्ष गिरि प्रसाद पुनले वित्तीय संकटको बीचमा पनि जनउत्थानले सदस्यका माझ राम्रो छवि बनाएको र आफ्ना सदस्यहरुको मन जित्न सफल भएकोमा खुसि व्यक्त गर्नुभयो। उहाँले सहकारीका सदस्यले संस्था कुन ठाउँमा पुगेको छ, त्यसको लेखाजोखा समेत गर्दै अघि बढ्नुपर्ने समेत बताउनुभयो।
मणिग्राम शाखाको मंगलापुर रामजानकी मन्दिरमा सम्पन्न साधारण सभामा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले अर्थतन्त्रका तीन खम्बा मध्ये एक खम्बाको रुपमा राज्यले सहकारीलाई लिएको र सहकारीले महिला ससक्तिकरण रोजगारी, आत्मनिर्भरता र ब्यबसायिकिकरणमा जोड दिनुपर्ने बताउनुभयो। नगरप्रमुख खाणले तिलोत्तमाको शान बनेको जन उत्थान सहकारीले विभिन्न खालका अवार्ड पाएर समग्र तिलोत्तमाको समेत शिर उच्च गराएकोमा अझ सफलाताको शुभकामना सहित बधाई समेत दिनुभयो। सभामा मणिग्राम शाखा संयोजक तथा प्रमुख जमुना सापकोटा तिवारीले छोटो समयमा मणिग्राम शाखा कार्यालय स्थापना गरी वित्तीय कारोबार सुरु गरेको जनउत्थानको शाखाले यस क्षेत्रका बचतकर्ताको मनमा बस्न सफल भै उत्कृस्ट बित्तिय कारोबार गर्न सफल रहेको बताउनुभयो। संस्थाले राष्ट्रिय तथा अन्तराष्ट्रिय सहकारीका सिद्धान्तहरुलाई आत्मसात गर्दै अघि बढेको र बचत तथा ऋणको माध्यमबाट सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको लागि काम गर्दै आएको उहाँको भनाई छ।
सो अवसरमा बोल्दै व्यवस्थापक रन बहादुर थापाले संस्थाले यस अवधिसम्म आईपुग्दा सदस्यहरुलाई व्यवसायिक रुपमा सक्षम बनाई , उनीहरुको कृषि पशुपालन शिक्षा स्वास्थ्य रोजगार व्यापारमा समेत लगानी तथा प्रगती गर्न सकेकोमा गर्व गर्नुभयो। उहाँले सबैको सहयोगमा संस्थाले एक्सेस ब्राण्ड पाउन सफल भएकोमा सबैलाई बधाई समेत ज्ञापन गर्नुभयो। संस्थाले गर्भदेखि स्वर्गसम्मको लागि आवश्यक पर्ने बचतका प्रकारहरु सञ्चालनमा ल्याउने, सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरी सहकारीको महत्वका वारेमा बुझाउने र विद्यालयमा विद्यार्थी क्लब स्थापना गरी वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गर्ने गरेको उहाँको भनाई छ।
सहभागी सदस्यहरुमा १० जनालाई निशुल्क चिठ्ठा गोलाप्रथा गरि इन्डक्सन चुल्हो बितरण गरेको संस्थाको मणिग्राम शाखाको साधारण सभामा तिलोत्तमा वडा नम्बर ७ का अध्यक्ष देवी पंगेनी, वडा नम्बर १० का अध्यक्ष गोपाल प्रसाद घिमिरे लगायतकाले बोल्दै संस्थाको सफलताको कामाना गर्नुभएको थियो।
संस्थाकी सचिव सरु रानाले शाखाको सबै सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कुल सदस्य मध्ये १० हजार ६ सय ९८ जना सदस्यले संस्थाबाट ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय गर्दै आएको जानकारी दिनुभयो। १० वटै शाखामा भव्यताका साथ साधारण सभा सम्पन्न भएको बताउदै उहाँले संस्थाले सदस्य लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरेको र त्यस कार्यक्रमबाट गत आर्थिक बर्षमा पनि धेरै सदस्य लाभान्वित भएको जानकारी दिनुभयो। संस्थाले गत वर्ष सामाजिक कार्यको लागि ८ लाख ४ हजार खर्च गरेको उहाँको भनाई छ । संस्थाकी कोषाध्यक्ष विष्णुमाया कुँवरले आर्थिक बर्ष २०८०/८१ को आर्थिक प्रतिवेदन कपि सभामा प्रस्तुत गर्दै गत बर्षको मुनाफाबाट सदस्यलाई ८ प्रतिशत लाभांश वितरण गरिने जानकारी दिइन् ।
संस्थाले गत आ.व.२०८१ को असार मसान्तसम्म ४० हजार २ सय ४ जना सदस्यबाट २९ करोड ५५ लाख ७७ हजार ४ सय शेयर पुँजी संकलन गरेको छ । त्यसैगरी यस अवधिमा बचत संकलन ३ अर्ब ३ करोड ७० लाख, ऋण लगानी २ अर्ब ९३ करोड ५१ लाख र शुद्ध बचत ११ करोड १८लाख रहेको छ । संस्थाले गत आ.व.२०८१ को असारसम्म ३ अर्ब ७९ करोड ४७ लाख कुल सम्पत्ति पुर्याएको छ । संस्थाको जगेडा कोषमा ३३ करोड ५५ लाख रकम जम्मा भएको छ । रुपन्देही जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाले १० वटा सेवा केन्द्र मार्फत सदस्यलाई वित्तीय लगायतका अन्य सेवा प्रदान गर्दै आएको छ ।