
तिलोत्तमा, २०८१ भद्र ३१ गते।मोफसलको पुरानो र प्रतिष्ठित मध्ये एक झरना स्पोर्टस क्लब, कुञ्जलापुरको आयोजनामा वार्षिक रुपमा आयोजना हुँदै आएको स्व. खगी गुरुङसेनी स्मृति ३६औं झरना कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।तिलोत्तमा–६, कुञ्जलापुर स्थित आयोजक क्लब कै खेलमैदानमा हुने प्रतियोगिताको सोमबार पत्रकार सम्मेलनको आयोजना गरी खेलतालिका समेत सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा असोज २ गतेका दिन साविक विजेता भूपू सैनिक जवई स्र्पोटिङ क्लब, सालघारी र गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल भिड्ने छन् । कुल रुपन्देही, नवलपरासी, स्याङ्जा, कपिलवस्तुका गरी १६टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज १७ गतेका दिन हुने खेल संयोजक विजय पुनले बताए ।
प्रतियोगिताको विजेताले रनिङ शिल्ड सहित ३ लाख ३१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ८१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष धनेन्द्र पौडेलले जानकारी दिए । आफ्नो अध्यक्षतामा पहिलो प्रतियोगिता रहेको बताउँदै अध्यक्ष पौडेलले प्रतियोगिता अझै परिस्कृत रुपमा आयोजना गरेर सफल पार्ने बताए । साथै यो कार्यमा उनले सबैको सहयोग, समर्थनको अपेक्षा गरेको समेत प्रतिक्रिया दिए ।त्यस्तै विधागततर्फ सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि जनही २५–२५ हजार दिइने क्लबका पूर्व अध्यक्ष तथा संरक्षक समेत रहेका लोक पुनले जानकारी दिए । त्यसवाहेक विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई जनही १०–१० हजार तथा प्रतियोगिताको सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद १५ हजार प्रदान गरिने खेल संयोजक विजय पुनले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्