लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

छुवाछुत उन्मुलन दिवसमा पण्डित सम्मानित

IMG

तिलोत्तमा,जेष्ठ २२ गते २०८१। छुवाछुत उन्मुलन दिवसको अवसरमा बुटवलमा सामाजिक अभियानकर्मी पण्डित भिमकान्त पन्त सम्मानित भएका छन् । माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा रुपन्देहीले सोमबार दोसल्ला ओढाएर सम्मान गरेको हो ।


तिलोत्तमा निवासी पन्तले लामो समयदेखि धार्मिक अभियान चलाएर छुवाछुत अन्त्यका लागि प्रयास गरीरहेका छन । धर्मशास्त्रमा विभेदको विषयमा कतै उल्लेख नभए पनि हिंन्दु समुदायमा छुवाछुत कायम रहेको अवस्थामा यसको अन्त्यका लागि धार्मिक जागरण आवश्यक रहेको भन्दै उनले विभिन्न धार्मिक कार्यक्रमहरु गर्दै आइरहेका छन । जातिय विभेद अन्त्य गर्न राजनैतिक क्षेत्रबाट मात्रै नभई धार्मिक क्षेत्रबाट पनि अभियान सञ्चालन गर्नुपर्छ भन्ने मनसायले सम्मान गरीएको कार्यक्रम संयोजक पदम बहादुर बिकले जानकारी दिए ।


सो अवसरमा बोल्दै अभियानकर्मी पन्तले जातिय विभेद सामन्त बर्गले शोषणका लागि बनाएको हतियार भएकाले यसका बिरुद्ध विद्रोह गर्नु आवश्यक रहेको बताए । वेदमा कतै पनि जातको बारेमा उल्लेख नभएको स्मरण गर्दै शासन गर्न सामन्तले बहुसंख्यक मानिसलाई उल्लेख बनाएको बताए । आफुले तीन दशक अघिदेखि नै अन्तरजाति विवाह गराउँदै आएको भन्दै सतान परम्परा अनुसार विवाह गर्दा केही फरक नपर्ने बताए ।


माओवादीक केन्द्रका केन्द्रिय सदस्य तथा रुपन्देही ईन्चाज बामदेव क्षेत्रीले दलित समुदायमा सामाजिक आर्थिक तथा राजनैतिक विकास गर्न सके विभेद अन्त्य गर्न सकिने बताए । विभेदको प्रमुख कारण सामाजिक व्यवस्था भए पनि यसको पछाडि चेतनाको स्तरले पनि प्रमुख भुमिका खेलेको उनको भनाइ छ । माओवादीले विभेद विरुद्ध दश बर्षे जनयुद्ध लडेका स्मरण गर्दै अहिलेको समानुपातिक राज्य व्यवस्थाको जस माओवादीले पाउनु पर्ने बताए ।


माओवादी केन्द्रका रुपन्देही सह ईन्चार्ज किस्मत बिकले सम्पूर्ण अधिकार सिंह दरबारमा रहकाले अब दलित समुदायले सिंह दरबार प्रवेश गर्ने तयारीमा लाग्नु पर्ने बताए । उनले राजनैतिक अधिकार प्राप्त नभए सम्म विभेद अन्त्य नहुने बताउँदै नेता बिश्वकर्माले राजनैतक अधिकार प्राप्तिका लागि एकताबद्ध हुन आह्वान गरे ।


माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य सुजित बिकले सामाजिक परिवर्तनका लागि दैनिक ब्यवहारमा परिवर्तन हुन आवश्यक भएको बताए । दैनिक जीवनमा देखिने गरी परिवर्तन नभए सम्म परिवर्तन भएको मान्न नसकिने उनको भनाइ छ । सोही कार्यक्रममा बोल्दै अखिल नेपाल महिला संघ क्रान्तिकारी रुपन्देही ईन्चार्ज रिज्जु श्रेष्ठले विभेद हरेक तह र तप्कामा रहेको भन्दै विभेदमा परको बर्ग क्षेत्र र समुदाय एकताबद्ध भएर अघि वढ्नु पर्ने बताइन् ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही सचिव विनोद परियार, संघका कोषाध्यक्ष सञ्जय बिश्वकर्मा, दलित पत्रकार संघ नेपाल रुपन्देही अध्यक्ष टंक सुनार र ईन्सेक रुपन्देही प्रतिनिधि रिमा बिसीले बोल्दै २१ औँ शताब्दिमा पनि जातिय विभेद तथा छुवाछुतका घटना कायमै रहनु लाजमर्दो बिषय भएको बताए । विभेद बिरुद्ध शिक्षित बर्ग अग्रसर भएर लाग्नु पर्नेमा उनिहरुको जोड थियो ।


कमेन्ट गर्नुहोस्