लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्वास्थ्यमा समस्या देखिएपछि डा.केसीले तोडे अनसन

tillotmacitynews - 2024 May 16 08:28 PM
IMG

तिलोत्तमा सिटी, २०८१ जेठ ३ गते । स्वास्थ्यमा समस्या देखिएपछि डा. गोविन्द केसीले २२ औँ आमरण अनसन तोड्नुभएको छ । केसीले बिहीबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै २२ ‍औँ अनसन तोडेको जानकारी दिनुभएको हो । 


उहाँले छैटौँ दिनमा द्वन्द्व पीडितहरू भानुप्रताव साह, उज्वलकुमार श्रेष्ठ र सावित्री श्रेष्ठको हातबाट जुस पिएर अनसन तोड्नुभएको छ । डा‍. केसी पशुपति क्षेत्रको मृगस्थलीमा अनसन बस्नुभएको थियो । उहाँले राज्यले नागरिकहरू प्रतिको दायित्व निर्वाह नगर्ने देखिएकाले अनसन तोडेको बताउनुभयो । उहाँले द्वन्द्व पीडितहरूले न्याय पाउनुपर्छ भन्दै ६ वर्षअघिदेखि माग राख्दै आएको तर अहिलेसम्म सरकारले कुनैपनि सम्बोधन नगरेको बताउनुभयो । 


उहाँको स्वास्थ्य अवस्था जटिल हुँदै गएको डाक्टरहरूले औँल्याएसँगै अनसन तोडेको बताउनुभयो । उहाँले वर्तमान शासकहरूको नियतलाई दृष्टिगत गर्दै अनसन तोड्नुपरेको उल्लेख गर्नुभयो । उहाँले हत्या हिंसाको माध्यमबाट सत्तामा आएका दल र त्यस्तो पृष्ठभूमिमा रमेका रमाएकाहरूले शान्तिपूर्ण अहिंसात्मक सत्याग्रहको माग सुनुवाइ गर्छन् र शासकहरू संवेदनशील बन्छन् भन्नेकुरा सोच्नु मूर्खता भएको जिकिर गर्नुभयो । 


डा. केसीले सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने भन्दै प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहालको तत्काल राजीनामा माग समेत गर्नुभएको थियो । यस लगायत उहाँले सबै नेपालीलाई निःशुल्क औषधी-उपचारको व्यवस्था गर्नुपर्ने, यसअघि गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने विषयमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने, कार्की आयोगले दोषी ठहर्‍याएका व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने थप चार बुँदे माग राखेर अनसन बस्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्