लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ड्राइभिङ लाइसेन्सको समस्या पूर्ण रूपमा समाधान गर्न अझै एक वर्ष लाग्छ : मन्त्री महासेठ

tillotmacitynews - 2024 May 02 08:54 PM
IMG

तिलोत्तमा सिटी, २०८१ वैशाख २०  गते । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ड्राइभिङ लाइसेन्सको समस्या पूर्ण रूपमा समाधान गर्न अझै एक वर्षको समय लाग्ने बताउनुभएको छ।


बिहीबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले विगत ८/९ महिना यता नेपालमा लाइसेन्सको ठुलो समस्या रहेको उल्लेख गर्दै अहिले एक महिना यता दिनको चारदेखि पाँच हजार प्रिन्ट सुरु भएको बताउनुभयो। उहाँले ग्लोबल टेण्डर गरेर मेसिन ल्याइसकेपछि महिनाको एक लाख २५ हजारदेखि डेढ लाख छापिने र त्यो अनुसार पनि पूर्ण समस्या समाधानका लागि अझै १२ देखि १३ महिनाको समय लाग्ने बताउनुभयो।


उहाँले भन्नुभयो, ‘‘आज पनि समस्या छ। ८/९ महिना यता नेपालमा लाइसेन्सको ठुलो समस्या रहेको मैले सुनेँ। ड्राइभिङ लाइसेन्सको समस्या सबैभन्दा ठुलो छ। त्यो प्रिन्ट बन्द थियो। विविध कारणले बन्द थियो, कारणमा नजाऔँ। अहिले करिब करिब एक महिना भयो, दिनको चारदेखि पाँच हजार प्रिन्ट सुरु भएको छ। यसलाई अझ समस्या समाधान गर्नको लागि मैले निर्देशन दिइसकेको छु। अझ आइसिसीबाट ग्लोबल टेण्डर गरेर हामीले मिसिन यो यो टाइपको झिकाउनुस्, सबैले पार्टीसिपेट गर्नेगरी भनेको छु। अबका केही दिनमा यी समस्या समाधान हुन्छन्। महिनाको एक लाख २५ हजारदेखि डेढ लाख अहिलेको मेसिनले छाप्न सुरु गरिसकेको छ। तैपनि हामीलाई अझै १२ देखि १३ महिना लाग्छ।’’


उपप्रधानमन्त्री महासेठले देशको अवस्थालाई देखाउँदै बजेटको सिलिङ घटेको भए पनि आगामी बजेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बजेटको सिलिङ बढ्ने बताउनुभयो। उहाँले मुख्य रूपमा निर्माण मन्त्रालयको बजेट बढाउने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक रहेको बताउनुभयो। उहाँले रणनीतिक सडक अन्तर्गत निर्वाचन क्षेत्रीय सडकहरू आगामी बजेटमा मन्त्रालयको प्रमुख प्राथमिकतामा पर्ने जिकिर गर्नुभयो। 


मन्त्री महासेठले आफू आउँदा मन्त्रालयका योजना अलपत्र रहेकोमा अहिले सुधार र व्यवस्थापन गरी अघि बढेको बताउनुभयो। उहाँले २७५ जना सांसदको भावनालाई समेटेर नै बजेट निर्माण गर्ने कुरामा सरकार गम्भीर रहेको बताउनुभयो। 

कमेन्ट गर्नुहोस्