लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सामुदायिक विद्यालय पुग्ने अभिभावकलाई भत्ता

tillotmacitynews - 2024 Apr 29 02:36 PM
IMG

तिलोत्तमा सिटी,२०८० वैशाख १७ गते । गुल्मीमा सामुदायिक विद्यालय पुग्ने आभिभावकलाई भत्ता प्रदान गरिने भएको छ । जिल्लाको मदाने गाउँपालिका –१, अग्लुङ्गले सामुदायिक विद्यालयका अभिभावकलाई भत्ता प्रदान गर्ने भएको हो।


नयाँ शैक्षिकसत्र सुरु भएसँगै वडाले वर्षमा सबैभन्दा धेरै दिन विद्यालयमा पुग्ने अभिभावकलाई भत्तासहित सम्मान गर्ने निर्णय गरेको वडा अध्यक्ष सुशील चन्दले जानकारी दिनुभयो । वडा अध्यक्ष चन्दका अनुसार सामुदायिक विद्यालयमा पुग्ने अभिभावकको हाजिरीको व्यवस्था गरिनेछ ।पछिल्लो समय सामुदायिक विद्यालयको नतिजा खस्कदै गएको भन्दै शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यसहित यस्तो निर्णय गरिएको छ । अग्लुङ्गभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा अभिभावक हाजिरी रजिस्टरको व्यवस्थासँगै सबैभन्दा धेरै दिन विद्यालयमा पुगेर आफ्ना सन्तानको पढाइप्रति चासो राख्नेलाई शैक्षिकसत्रको अन्तिममा तीन हजार रुपियाँ भत्तासहित सम्मान गरिने निर्णय गरिएको उहाँले बताउनुभयो ।


सामुदायिक विद्यालयप्रति अभिभावकको चासो निकै कम हुँदैगएको हुँदा विद्यालयले पत्राचार गर्दा पनि अभिभावक उपस्थित नहुने समस्याले गर्दा शिक्षक, विद्यार्थी र अभिभावकविच समन्वय नभएको वडा अध्यक्ष चन्दले बताउनुभयो । विद्यालयले सोचेजस्तो गुणस्तरीय शिक्षा दिन र नतिजा हाँसिल गर्न नसकेकाले यस्तो निर्णय गरिएको उहाँको भनाइ छ । वडाभित्र हाल दुई माध्यमिक, चार आधारभूत र एक बाल विकास केन्द्र गरी सात वटा विद्यालय छन् । 

कमेन्ट गर्नुहोस्