लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बागमतीमा शिक्षक बैङ्क स्थापना गरिने

IMG

तिलोत्तमा सिटी,२०८० वैशाख १२ गते । मकवानपुरको बागमती गाउँपालिकाले शिक्षक बैङ्क स्थापना गर्ने भएको छ । पालिकाले सूचना जारी गर्दै शिक्षक बैङ्क स्थापना गर्ने जनाएको हो । 


पालिका शिक्षा समितिको गत चैत्र १७ गतेको निर्णय अनुसार “शिक्षक बैङ्क व्यवस्थापन कार्यविधि, २०८०” बमोजिम शिक्षक बैङ्क स्थापना गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिनुभयो । शिक्षक बैङ्क अन्तर्गत शिक्षक प्रतीक्षा सूची रहने छ । पालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक लामो समय बिदामा बस्दा बिदा अवधिभर उक्त प्रतीक्षा सूचीमा सूचीकृत शिक्षकलाई खटाइने गाउँपालिकाले जनाएको छ । सूचनामा बालविकास केन्द्र सहजकर्ता, प्रावि, निमावि र मावि तहका लागि दरखास्त आह्वान गरिएको छ । 


बालविकास र गाउँपालिका अनुदानका लागि स्थायी अध्यापन अनुमतिपत्र अनिवार्य गरिएको शिक्षा शाखा प्रमुख प्रमोद राईले जानकारी दिनुभयो । अस्थायी र करारको लागि भने ऐन तथा नियमानुसार सिफारिस हुने उहाँले बताउनुभयो ।“सामुदायिक विद्यालयका शिक्षकहरूले शिक्षा ऐन तथा नियमावली बमोजिम पाउने विविध प्रकारका अदाहरू कुनै न कुनै बेला उपयोग गर्न पाउनेछन्, गाउँपालिकाको सामाजिक विकास शाखाको संयोजक कमान सिं पाख्रिनले भन्नुभयो, "कतिपय विद्यालयमा रिक्त अस्थायी दरबन्दी रहेको अवस्था पनि छ ।" यस्तो अवस्थामा शिक्षक बैङ्कले दैनिक शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिने र नवशिक्षकलाई थप शिक्षणको तयारीसँगै आर्थिक रूपमा पनि टेवा पुग्ने उहाँले बताउनुभयो ।


निमावि र मावि तहको लागि विषयगत शिक्षक माग गरिएको छ । जसमा अङ्ग्रेजी, गणित, विज्ञान र कम्प्युटरका लागि विषयगत रूपमा दरखास्त दिन सकिने सूचनामा उल्लेख गरिएको छ । शिक्षक बैङ्क अन्तर्गत रहने शिक्षक प्रतीक्षा सूचीमा सूचीकृत हुन इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले गाउँपालिकामा सम्पर्क गर्न भनिएको छ । बागमती गाउँपालिकामा ३५ प्रावि, निमावि १० र मावि ५ सहित ५० वटा सामुदायिक विद्यालयहरू छन् ।

कमेन्ट गर्नुहोस्