लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपालगन्जमा विद्यालयहरूको वर्गीकरण गरी पढाइ शुल्क निर्धारण

tillotmacitynews - 2024 Apr 23 01:11 PM
IMG

तिलोत्तमा सिटी, २०८१ वैशाख ११ गते । नेपालगन्ज उपमहानगरपालिकाले विद्यालयहरूको वर्गीकरण गरी शुल्क निर्धारण गरेको छ । संस्थागत विद्यालय मापदण्ड तथा निर्देशिका २०८० अनुसार संस्थागत विद्यालयको वर्गीकरण गरेर शुल्कसमेत निर्धारण गरेको नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो । 


उपमहानगरभित्रका विद्यालयलाई ‘क’, ‘ख’ र ‘ग’ श्रेणीमा वर्गीकरण गरी सोहीबमोजिम निर्धारण गरिएको शुल्क लिनसमेत जानकारी गराइएको उहाँले बताउनुभयो । शिक्षा महाशाखाका अनुसार नेपालगन्ज उपमहानगरपालिकामा ८१ वटा विद्यालय रहेका छन् । जसमध्ये प्रक्रिया पूरा नगरेका केही विद्यालयको मापदण्ड मूल्याङ्कन रोकिएको छ । त्यस्ता विद्यालयलाई पाँच हजार जरिबाना तिराएको छ । 


शिक्षा महाशाखाले वर्गीकरणका लागि स्वमूल्याङ्कन फाराम नभर्ने १४ वटा विद्यालय रहेको जनाएको छ । शिक्षा समितिका अनु्सार ‘क’ वर्गमा १३ वटा विद्यालय परेका छन् । संस्थागत विद्यालयले आफूखुसी शुल्क लिने गरेको अभिभावकको गुनासोपछि उपमहानगरपालिकाले वर्गीकरण गरेर वर्ग अनुसार शुल्क निर्धारण गरेको हो । उपमहानगरपालिकाले ‘क’ वर्गका विद्यालयले आधारभूत तहमा मासिक अधिकतम चार हजार पाँच सय, ‘ख’ वर्गकाले तीन हजार ७५० र ‘ग’ वर्गका विद्यालयले तीन हजार शुल्क लिन पाउने निर्णय गरेको छ । 


त्यस्तै माध्यमिक तहतर्फ ‘क’ वर्गका विद्यालयले मासिक अधिकतम पाँच हजार पाँच सय, ‘ख’ वर्गका विद्यालयले चार हजार छ सय र ‘ग’ वर्गका विद्यालयले तीन हजार ७५० शुल्क लिन पाउने निर्णय गरिएको छ ।  उपमहानगरले विद्यालयको शुल्क निर्धारण गरेकोमा खुसी व्यक्त गर्दै नेपालगन्ज–११ का अभिभावक मुबारक सिद्दिकीले विभिन्न नाममा लिइने शुल्कसमेत खारेज हुनुपर्ने बताउनुभयो । संस्थागत विद्यालयले विभिन्न नाममा मनपरी तरिकाले विभिन्न शुल्क लिने गरेको गुनासो अभिभावकको छ । 

कमेन्ट गर्नुहोस्