लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नारायणगढ–मुग्लिन सडकका एघार पुल सञ्चालनमा

tillotmacitynews - 2024 Apr 13 09:13 PM
IMG

तिलोत्तमा सिटी, २०८१ वैशाख १ गते । नारायणगढ–मुग्लिन सडकखण्डका ११ वटा पुल सञ्चालनमा आएका छन्। मुग्लिन बजार नजिकको खहरे, नाम्चे, कालिखोला र तुइनखोला पुलबाहेक अन्य पुल सञ्चालनमा आएका हुन्। निर्माण भइरहेका चार पुलमा तीनवटाको पहुँच सडक निर्माणको काम जारी छ। 


नाम्चे, कालिखोला र खहरेखोलामा निर्माण भएका पुलको पहुँच सडक निर्माणको काम भइरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का इन्जिनियर कृष्ण आचार्यले बताए। इन्जिनियर आचार्यका अनुसार पहुँच सडक निर्माण भइरहेका पुलमध्ये नाम्चे र कालिखोलाको पुल असार मसान्तभित्र सञ्चालनमा ल्याउने गरी काम गरिएको छ।


खहरेखोलामा निर्माण गरिएको पुलका लागि पहुँच सडक निर्माण गर्न अग्लो पर्खाल उठाउनुपर्ने भएकाले केही समय लाग्ने उनले बताए।   

 तुइनखोलाको पुल निर्माणको काम ६५ प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए। उनले भने, ‘तुइनखोलाको पुल निर्माणको कामअन्तर्गत जग उठाउने काम सम्पन्न भएको छ।’


तुइनखोला र खहरेखोलाको पुल निर्माणको काम कात्तिक मसान्तभित्र सक्नेगरी भइरहेको उनले जानकारी दिए। यस सडकखण्डमा १९ वटा पुल छन्। जसमध्ये विसं २०७६ चैत १० गते १५ वटा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। विश्व बैंकको सहयोगमा ती पुल निर्माण गरिएका हुन्। सडक चौडा भएपछि पुलको काम थालिएको हो। यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ।

कमेन्ट गर्नुहोस्