
तिलोत्तमा सिटी,२०८० चैत्र २६ गते । कालीगण्डकी करिडोरअन्तर्गत पाल्पाको रानीमहल–राम्दी १७ किलोमिटर सडकखण्डको ठाउँठाउँमा खसेको पहिरो नपन्छाउँदा अवरुद्ध रहेको छ । कालीगण्डकी करिडोर आयोजना कार्यालयले यस खण्डलाई चासो नदिएकाले सडकमा सवारी साधन सञ्चालन हुन नसकेको हो ।
कालीगण्डकी करिडोर आयोजनाको राम्दी–रानीमहल सडकअन्तर्गतको मन्द्रान भिरमा खसेको पहिरो । करिडोरअन्तर्गत राम्दीदेखि पर्यटकीयस्थल रानीमहल जाने यम्घाको मन्द्रान, मझेटा र रानीमहलनजिकै खसेका ठूला पहिरोका कारण सवारी साधन सञ्चालन हुन नसकेको स्थानीय शेरबहादुर बोटेले बताए । यहाँ खसेको पहिरो लामो समयदेखि नपन्छाइएको उनले बताए । पहिरो नहटाउँदा यस भेगका बासिन्दालाई १७ किलोमिटर दूरी पार गर्न ४० किलोमिटर टाढा घुमेर जानुपर्ने बाध्यता छ ।
‘सडकमा खसेका पहिरो पन्छाउने हो भने १४ किलोमिटरमै सिद्धार्थ राजमार्गको राम्दी पुग्न सकिन्छ,’ बगनासकाली गाउँपालिका–७, खानीगाउँ दैलातुङका केशवराज खरालले भने, ‘अहिले ४० किलोमिटर घुमेर यात्रा गर्नुपर्ने बाध्यता छ ।’
रानीमहल नजिकै बराङ्दी खोलाको वल्लो पल्लो भागमा १० वर्षदेखि पहिरो पन्छाइएको छैन । ट्रयाकसमेत राम्रोसँग नखुलेको क्षेत्रमा पुल निर्माणको कामसमेत अघि बढेको छैन । झन्डै एक किलोमिटर क्षेत्र जंगल बनेर बसेको छ । खसेको पहिरो नपन्छाउँदा वर्षौंदेखि यात्रुले सास्ती खेप्नु परेको छ । रानीमहलनजिकै स्याङ्जा जोड्ने पुल बनेको छ । तर कालीगण्डकी नदीको किनारबाट सवारी साधन लैजानुपर्ने बाध्यता रहेको स्याङ्जा सटुकाका अर्जुन पाण्डेयले बताए । ‘पक्की पुल बनेको छ तर वर्षको तीन महिना सवारी चलाउन सकिने अवस्था हुन्न ।’
रानीमहल पुग्न नदीको किनार भएर जानुपर्छ । कालीगण्डकी करिडोर हुँदै सिद्धार्थ राजमार्गको राम्दी जानसमेत मन्द्रान र मझेटाको पहिरो नपन्छाएर समस्या भएको स्थानीयको गुनासो छ । कालीगण्डकी करिडोरको अन्य भागमा कालोपत्रको समेत काम सकिन लाग्दा यस खण्डमा सडक स्तरोन्नतिको काम अघि बढेको छैन । वर्षायाममा खसेको पहिरो नपन्छाउँदा यात्रुले घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।करिडोर आयोजना कार्यालयका सूचना अधिकारी अरुण खत्रीले ट्य्राकको काम अझै पूर्णता नपाएकाले पैदल नै
अनुगमन गएको बताए । मन्द्रानको भिरमा पहाडै खसेर ट्य्राक पुरेको र बनाउने बजेट नभएकाले समस्या भएको उनले बताए । गाउँपालिकाको बजेटबाट पहिरो पन्छाउन ठूलो खर्च लाग्ने भएकाले आयोजनाअन्तर्गतको सडकमा लगानी गर्दैनन् । तत्काल पहिरो पन्छाउन कालीगण्डकी करिडोर आयोजनालाई सरोकारवाला निकाय कसैले पनि दबाब नदिएकाले समस्या भएको स्थानीय प्रेम बस्यालले बताए ।
बगनासकाली गाउँपालिकाको राम्दीदेखि रानीमहल सड खण्डमा ट्रयाक खुले पनि अझै नियमित सवारी सञ्चालन हुन नसक्नु आयोजना कार्यालयको कमजोरी रहेको उनले बताए । राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्ग आयोजनाअन्तर्गत निर्माण व्यवसायीले १३ वर्षअघि लिएको ठेक्का तोडेर नयाँ ठेक्का लगाउने तयारी भएको आयोजना कार्यालय बर्तुङले जनाएको छ ।
कमेन्ट गर्नुहोस्