लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चैतभित्रै भूमि आयोग गठन हुन्छ : मन्त्री अधिकारी

IMG

तिलोत्तमा,२०८० चैत्र १५ गते।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले चैत महिना भित्रमा अधिकारसम्पन्न भूमि आयोग गठन हुने बताएका छन्। पश्चिम नवलपरासीको सुस्तामा बुधबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भूमिहीन र सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गरिसक्ने प्रतिबद्धता जनाए । लामो समयसम्म जमिन जोतभोग गर्दै आए पनि लालपुर्जाविहीन भएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकार लागिपरेको उनको भनाइ थियो ।नयाँ गठबन्धनको सरकारले भूमि आयोग खारेज गरेपछि स्थानीयले लालपुर्जा पाउने र अहिलेसम्म भएको कामको अपनत्व आगामी आयोगले लिने/नलिने भन्ने विषयमा जिज्ञासा राखेपछि मन्त्री अधिकारीले अहिलेसम्म भएको कामबाट नै नयाँ आयोगले काम गर्ने बताए ।


 ‘नयाँ सरकार गठन भएपछि कतिपय राजनीतिक पक्ष हुन्छन् । जसले गर्दा आयोग खारेज भएको हो,’ उनले भने, ‘चैत महिनाभित्र नै नयाँ आयोग गठन भएर अहिलेसम्म भएका कामलाई निरन्तरता दिएर काम सुरु गर्ने छ ।’मन्त्री अधिकारीले बुधबार जिल्लाको सुनवल, रामग्राम, सरावल, प्रतापपुर र सुस्ताका भूमिहीन सुकुम्बासीसँग अन्तर्क्रिया गरेका थिए ।वर्तमान सरकार गठबन्धन आगामी चुनावसम्म कायम रहने उनको दाबी छ । सरकार नबन्दै विभिन्न टीकाटिप्पणी हुने गरेको भन्दै अधिकारीले नकारात्मक भाष्य चिरेर वर्तमान सत्ता गठबन्धनले मुलुकलाई निकास दिने दाबी गरे ।

कमेन्ट गर्नुहोस्