लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

खाडीको अनुभवबाट आफ्नै बाख्रा फार्म

IMG

तिलोत्तमा सिटी,२०८० चैत्र १४  गते । वैदेशिक रोजगारीको सिलसिलामा भारतमा दुई दशक बिताउनुभएका रामपुर नगरपालिका–५ का नारायणप्रसाद भण्डारी २०६७ मा खाडी मुलुक जानुभयो । ड्राइभिङका लागि भनेर साउदी अरब पुग्नुभएका भण्डारी काम लगाउने कम्पनीमा पुगेपछि झस्किनुभयो । एजेन्टले झुक्याएर भेडाबाख्रा फार्मको काममा पठाएको रहेछ । करिब १३ वर्षको उमेरदेखि भारतको विभिन्न सहरमा काम गर्नुभएका उहाँले खाडीमा यतिको दुःख हुँदा पनि हार भने मान्नुभएन । भेडाबाख्राको स्याहारलाई सिक्ने अवसरका रूपमा लिएर तीन वर्ष साउदीमा बिताउनुभयो ।


विदेश यात्रा त्यागेर नेपाल फर्किनुभएका भण्डारी अहिले आफैँले बाख्रापालन व्यवसाय गर्नुभएको छ । हरियो देख्न नपाइने सुक्खा मरुभूमिमा पनि भेडाबाख्रा हलक्क बढेको देख्नुभएका भण्डारीले खाडीको अनुभवलाई उपयोग गर्दै २०७८ सालदेखि बाख्रा फार्म सञ्चालन गर्नुभएको हो । 


विदेशबाट फर्किएपश्चात् जिप किनेर आर्थिक आयआर्जन गर्दै आउनुभएको छ । यातायात व्यवसायमा राम्रै आम्दानी भए पनि घरपरिवारलाई समय दिन नसकिने भएपछि गाडी बिक्री गरेर बाख्रापालन सुरु गरेको भण्डारीले बताउनुभयो । उहाँको राङ्भाङस्थित आफ्नै घरमा २० लाखभन्दा बढीको लगानीमा सञ्चालनमा रहेको निर्मल पशुपन्छी कृषि फार्ममा साना पाठापाठीसहित हाल ११२ बाख्रा रहेका छन्  । सुरुवातमा दुई वटा बाख्राका माउबाट व्यवसाय सुरु गर्नुभएका कृषक भण्डारीले फार्मका लागि दुई वटा बिउ बोकासहित ५५ वटा बाख्रा पु¥याएर फार्मको सुरुवात गरेको जानकारी दिनुभयो । उहाँको जेठा छोरा भारतीय सेनामा कार्यरत हुनुहुन्छ ।


श्रीमती भगवती भण्डारी र दुई छोरा गरी परिवारका चार जना फार्मको व्यवस्थापनमा खट्दै आउनुभएको छ । फार्मबाट वार्षिक छ लाख रुपियाँभन्दा बढीको आम्दानी लिन सफल भएको उहाँले बताउनुभयो । खर्च कटाएर वार्षिक छ लाख आम्दानी हुने गरेको छ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना बुटवलले प्रदान गरेको तालिमले व्यवसाय सञ्चालनमा महत्वपूर्ण सहयोग गरेको उहाँको भनाइ छ । विदेशमा खट्ने समय अनुसार स्वदेशमै मेहनत गर्न सकियो भने कृषिमा सम्भावना रहेको उहाँले बताउनुभयो ।  

कमेन्ट गर्नुहोस्