लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रेमिट्यान्स पठाउने श्रमिकलाई विमानस्थलमा दुःख नदिन आग्रह

IMG

तिलोत्तमा सिटी, २०८० चैत १३ गते । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख दिने प्रवृत्ति तत्काल सुधार्न अध्यागमनका कर्मचारीलाई आग्रह गर्नुभएको छ । अध्यागमन विभागसँगको ब्रिफिङमा मङ्गलबार मन्त्री लामिछानेले सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउन आग्रह गर्नुभयो ।  ‘‘विदेशीका लागि अध्यागमन देशको मुहार हो । मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा बन्दैन । अध्यागमन सुधारका योजना ल्याउनुस् । तपाईँका योजनामा मन्त्रालयले सक्दो सहयोग गर्छ । म निर्देशन होइन सहकार्यमा विश्वास गर्छु,’’ उहाँले भन्नुभयो । 


मन्त्री लामिछानेले केही खराब मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेको पनि बताउनुभयो । ‘‘खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्नुपर्छ ।अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनु पर्छ । जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन केही चुनौती छन् । तर, प्रयास जारी राख्नुपर्छ । म हिजोका घटनामा कसैलाई दोषारोपण गर्न चाहन्न । भविष्यमा त्यस्ता घटना र प्रवृत्ति दोहोरिनु हुन्न। दलीय आबद्धताका कारण कसैले संरक्षण गर्छ भन्ने नसोच्नु होला ।’’


कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाई र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न निर्देशन दिनुभयो। त्यस्तै, विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम कारबाही, समस्या र चुनौतीबारे जानकारी गराउनुभएको थियो ।

कमेन्ट गर्नुहोस्