लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिनेमाको प्रतिक्रियाका दिन रिभ्यू बक्स

IMG

तिलोत्तमा सिटी, २०८० चैत ११ गते । सिनेमा हेरिसकेपछि दर्शक प्रतिक्रियाका लागि पोखरामा रिभ्यू बक्स राखिएको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखराका दुई मल्टीप्लेक्स सिनेमाघर मिडटाउन र सिनेप्लेक्समा रिभ्यू बक्स राखेको हो । एक कार्यक्रमका बिच मिडटाउन सिनेमाजका प्रबन्ध निर्देशक निकेश द्वा र सिनेप्लेक्सका म्यानेजर राजन पुरीले उद्घाटन गर्नुभएको हो । नेपालमा नै पहिलो पटक सिनेमा घरमा रिभ्यू बक्स राखिएको दाबी चपस कास्कीको छ । चपस कास्कीले रिभ्यू बक्स हलमा राखेर उदाहरणीय काम गरेको मिडटाउन सिनेमाजका प्रबन्ध निर्देशक निकेश द्वाले बताउनुभयो । उहाँका अनुसार रिभ्यू बक्स राखेर मात्र नहुने यसको संरक्षण र निरन्तरता गर्नुपर्ने आवश्यकता छ । रिभ्यू बक्सको स्थापनाले सिनेमाहलमा सिनेमा हेर्न आएका दर्शकलाई प्रतिक्रिया दिन सहज हुने विश्वास उहाँको छ ।


सिनेप्लेक्सका म्यानेजर राजन पुरीले चपस कास्कीसँग सहकार्य गरेर रिभ्यू बक्स स्थापना गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले रिभ्यू बक्स स्थापनाले नेपाली सिनेमाको सम्बर्द्धन  र प्रवर्द्धनमा समेत टेवा पुग्ने बताउनुभयो । चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले संस्थाले स्थापना गरेको रिभ्यू बक्स नेपाली चलचित्र क्षेत्रमा उदाहरणीय बन्ने बताउनुभयो । उहाँका अनुसार चपस कास्कीले राखेको रिभ्यू बक्सले नेपाली सिनेमा क्षेत्रको विकासमा महत्त्वपूर्ण टेवा पुग्नेछ ।


चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले चपस कास्की नेपाली सिनेमाको विकास र प्रवद्र्धनका लागि निरन्तर लागिरहेको उल्लेख गर्नुभयो । फलस्वरुप सिनेमा घरमा रिभ्यू बक्स राखिएको उहाँको भनाइ छ ।  शुक्रबारबाट रिलिज भएको सिनेमा महाजात्रा हेरिसकेपछि पोखराका पत्रकार एवम् दर्शकले रिभ्यू बक्समा प्रतिक्रिया दिएका छन् । रिभ्यू बक्ससँगै एउटा फर्म उपलब्ध गराइएको छ । जसमा सिनेमाको नामसहित निर्देशन, संगीत, कथा, अभिनय कस्तो लाग्यो दर्शकले ठीक चिह्न लगाएर उल्लेख गर्न पाउनेछन् । चिन्हसँगै सिनेमाका विषयमा आफ्नो धारणा समेत प्रस्तुत गर्न पाइनेछ । नाम, नम्बर र ठेगाना लेखि बक्समा उक्त कार्ड राख्नुपर्नेछ । एक हप्तामा बक्स खोलेर लक्की ड्र मार्फत दुई जना विजेता घोषणा गर्ने र विजेतालाई पुरस्कृत समेत गरिने चपस कास्कीका सचिव सन्तोष बस्यालले जानकारी गराउनुभयो ।


उहाँका अनुसार पुरस्कारका लागि सिनेमाहलहरु मिडटाउन सिनेमाज र सिनेप्लेक्समा विजेतालाई प्रत्येक हप्ता दुईदुई वटा फिल्म टिकट र पपकन निःशुल्क प्रदान गर्नेछ । यस्तै, दमदार बिरयानी र क्लाउड नाइनमा खाजाको समेत व्यवस्था गरिएको छ । विजेताबीच पनि प्रतिस्पर्धाका आधारमा मासिक रुपमा एक जनालाई बन्जी नेपालले प्रदान गरेको निःशुल्क बन्जी उपहार प्रदान गरिनेछ । रिभ्यू बक्स स्थापनाका लागि परिचयबाट समेत सहयोग प्राप्त भएको छ ।

कमेन्ट गर्नुहोस्