लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बैंकमा एक महिला सहित दुई स्वतन्त्र सञ्चालक अनिवार्य

IMG

तिलोत्तमा सिटी, २०८० चैत ८ गते । बैंक तथा वित्तीय संस्थामा कम्तीमा दुई जना स्वतन्त्र सञ्चालक नियुक्त गर्नुपर्ने प्रस्ताव गरिएको छ । बिहीबार अर्थमन्त्री वर्षमान पुनले संसदमा पेस गरेको ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन’ (बाफिया) संशोधन गर्न बनेको विधेयकमा उक्त प्रस्ताव गरिएको हो । हाल ऐनको दफा १७ अनुसार योग्यता भएको व्यक्ति मध्येबाट कम्तीमा एक जना स्वतन्त्र सञ्चालक नियुक्त गरी त्यसको जानकारी त्यस्तो नियुक्तिपछि बस्ने पहिलो साधारणसभामा दिनुपर्ने व्यवस्था थियो । त्यसलाई संशोधन गर्दै  कम्तीमा एक महिला सहित दुई जना स्वतन्त्र सञ्चालक अनिवार्य नियुक्त गर्नुपर्ने गरी काफियामा संशोधन प्रस्ताव गरिएको छ ।


बैंक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक वा ०.१ प्रतिशतभन्दा बढी सेयर लिएको सेयरधनी तथा निजको परिवार स्वतन्त्र सञ्चालक हुन नपाउने व्यवस्था यथावत् छ । यस्तै महिला सेयरधनी रहेको बैंकमा सञ्चालक नियुक्त गर्दा एक महिला सञ्चालक हुने गरी नियुक्त गर्नुपर्ने प्रस्ताव संशोधन विधेयकमा छ । यस्तै अन्य बैंक तथा वित्तीय संस्थामा सञ्चालक रहेको व्यक्ति पनि पूर्वाधार बैंकमा सञ्चालक हुन पाउने व्यवस्था हटाउने प्रस्ताव बाफिया संशोधनमा छ ।


यस्तै सञ्चालक आफ्नो कार्यकाल पूरा भए पनि अर्को एक अवधिका लागि मात्रै पुनः नियुक्त हुने व्यवस्था बाफियामा गर्न प्रस्ताव गरिएको छ । २०७३ मा बाफिया आउँदा ऐन प्रारम्भिक भए पनि लगातार दुई कार्यकाल मात्रै भनेकोमा अब भने कार्यकाल पूरा भएपछि पुनः एकपटक मात्रै सञ्चालक हुन पाउने व्यवस्था गर्न लागिएको हो । अहिले मर्जरमा जाने बैंक सञ्चालक र प्रमुख कार्यकारी अधिकृत ( सीईओ) लाई दुई कार्याकालको व्यवस्थामा छुट दिइएको छ ।


सञ्चालकको योग्यतामा कडाइ


बैंक तथा वित्तीय संस्था सञ्चालकको योग्यतामा कडाइ हुने भएको छ । अब बैंक सञ्चालक हुन जतिसुकै अनुभव भए पनि स्नातक उपाधि हासिल गरेको हुनपर्ने प्रस्ताव बाफिया संशोधनमा गरिएको छ । हाल विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृत स्तरमा कम्तीमा पाँच वर्ष काम गरेको  हुनुपर्ने  व्यवस्था थियो ।


तर, अब उक्त अनुभव भएकाले पनि कम्तीमा  स्नातक उपाधि हासिल गरेको हुनपर्ने प्रस्ताव भएको छ । यस्तै स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्ति बैंकमा कुनै अनुभव नभए पनि सञचालक हुने पाउने प्रस्ताव गरिएको छ । तर, बैंक तथा वित्तीय संस्थाको स्वतन्त्र सञ्चालक हुन भने  ऐनको दफा १७ अनुसार योग्यता अनिवार्य हुने प्रस्ताव गरिएको छ । यस्तै बैंक सञ्चालक हुन ७० वर्षको उमेर हद राख्ने गरी बाफिया संशोधन विधेयक संसदमा दर्ता भएको छ । हाल न्यूनतम २५ वर्ष उमेर व्यवस्था रहे पनि संशोधनमा भने न्यूनतम २५ वर्ष र अधिकतम ७० वर्षको उमेर राख्न प्रस्ताव गरिएको हो ।

कमेन्ट गर्नुहोस्