लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दैनिक लाखौँको अवैध सामान प्रहरीद्वारा बरामद

tillotmacitynews - 2024 Mar 21 09:01 PM
IMG

तिलोत्तमा सिटी, २०८० चैत ८ गते । भारतसँग सिमाना जोडिएको बाँकेमा दैनिकजसो चोरी तस्करीका घटना हुने गरेको छ । भारतसँग खुला सिमानाका भएका कारण यहाँ दैनिकजसो हुने चोरी तस्करीमा संलग्नहरूबाट लाखौँ रुपियाँ बरावरको सामान बरामद भइरहेको प्रहरीले जनाएको छ । बाँके प्रहरीले पछिल्लो समय अवैधरुपमा हुने यस्ता चोरी तस्करी नियन्त्रण तथा रोकथामका लागि सक्रिय भएको छ । प्रहरीले भारतबाट अवैधरुपमा भन्सार छलेर  ल्याइएका सामग्री तथा बस्तुहरू बरामद गर्दैआएको जनाएको छ । 


जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले चोरी तस्करी नियन्त्रण गर्न प्रहरीले विशेष योजना बनाएर काम गरिरहेको बताउनुभयो । उहाँले भारतसँग खुला सीमा भएका कारण अरूभन्दा यो जिल्लामा चोरी तस्करीका घटना बढी हुने भन्दै यसविरुद्ध प्रहरीले विशेष योजनाअनुसार टोली बनाएर परिचालन गरिरहेको बताउनुभयो । बाँके प्रहरीको सक्रियताका कारण पछिल्ला दिनमा दैनिकजसो जिल्लाका विभिन्न ठाउँबाट भारतबाट भन्सार छलेर ल्याइएका लाखौँका विभिन्न सामान तथा बस्तुहरू प्रहरीले बरामद गर्दैआएको छ । 


“मुख्य तथा सहायक नाकामा प्रहरीका अलावा सशस्त्र प्रहरीका विभिन्न चेकपोष्ट रहेका छन्, चोर र तस्करले प्रहरीको आँखा छलेर चोरी तस्करी गर्ने गर्छन्” प्रनाउ डाँगीले भन्नुभयो, “सुरक्षाकर्मीको आँखा छलेर ल्याइएका अवैध सामान हामीले विशेष योजनाअनुसार जिल्लाका विभिन्न स्थानबाट बरामद गर्दैआएका छौँ ।”


प्रहरीकै सक्रियताका कारण जिल्लाका विभिन्न ठाउँबाट दैनिक लाखौँ रुपियाँ बराबरका अवैध सामानहरू बरामद हुँदैआएको छ । यसैक्रममा प्रहरीले बुधबार र बिहीबार गरेर नेपालगन्जका विभिन्न ठाउँबाट चार लाख बढीको भारतबाट अवैधरुपमा भन्सार छली नेपाल ल्याइएका विभिन्न सामान बरामद गरेको छ । प्रहरीले भारतबाट अवैधरुपमा भन्सार छली चोरी निकासी पैठारी गरी नेपाल ल्याउँदै गरेको अवस्थामा ४ लाख ३४ हजार १४० रुपियाँ बराबरको कपडा, पर्फ्युम (सेन्ट), जुत्ता, चिनी, सुर्तीलगायतका सामान बरामद गरेको जनाएको छ ।


सशस्त्र प्रहरीले चैत ६ गते नेपालगन्ज –१२ मुक्तिपुरमा गोदाम राखेर भारतबाट भन्सार छली चोरी निकासी गरेर ल्याइएका सामान जम्मा गरी विक्री गर्ने गोदाममा नै छापा मारेर चप्पल, बल्व, ब्याट्री तथा लेडिज सुटसहितका करिब ७ लाख रुपियाँ बराबरको अवैध सामान बरामद गरेको जनाएको छ ।  सशस्त्र प्रहरीले पनि सिमानाकामा चेकजाँच कडाइ गरिनुका साथै विभिन्न ठाउँमा गस्ती बढाएको छ । बुधबार प्रहरीले दुर्लभ पाटेबाघको छालासहित सुर्खेतका चन्द्रबहादुर कार्कीलाई पक्राउ गरेको थियो । 

कमेन्ट गर्नुहोस्