लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नारायणगढ–बुटवल सडकखण्डका ठुला पुलमा ‘गर्डर लन्चिङ’

IMG

तिलोत्तमा सिटी २०८० चैत २ गते ।  नारायणगढ–बुटवल सडकखण्ड विस्तार अन्तर्गत ठुला पुलमा ‘गर्डर’ राख्ने काम सुरु भएको छ । दुई ठुला मेसिन आएसँगै पुलमा ‘गर्डर लन्चिङ’ को काम थालिएको आयोजनाले जनाएको छ । पूर्वपश्चिम राजमार्गको गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.४२ किलोमिटर पूर्वी खण्डमा अहिलेसम्म ४८ प्रतिशत भौतिक प्रगति भएको छ । नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले आयोजनाले ठुला पुलमा गर्डर राख्ने काम पनि थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण कम्पनीले पुलमा बिछ्याउने कङ्क्रिट गर्डर सम्बन्धित पुलको दायाँबायाँ यसअघि नै निर्माण गरिराखे पनि मेसिन अभावमा ‘लन्च’ गर्न सकेको थिएन । दुई ठुला मेसिन आएसँगै लोकाहा पुलमा गर्डर लन्चिङको काम सुरु भइसकेको छ ।” 


सडकका सानो २२ वटा (माइनर ब्रिज) मा २० वटाको काम सकिएको र बाँकी दुईमा पनि काम भइरहेको खनालको भनाइ छ । निर्माणकै क्रममा पूर्वी खण्डका ठुला १२ पुलमध्ये ११ वटाको उपसंरचना पूरा भएको र लामो पुल अरुणखोलामा पनि निर्माणको काम अघि बढेको जनाइएको छ । कालोपत्रेको कामलाई तीव्रता दिइएको छ । हालसम्म नारायणगढदेखि डन्डासम्म दुवैतर्फ गरी कुल २४.५ किमी सडक कालोपत्रको काम पूरा भएको छ । सडक पिच गर्ने क्रममा कावासोतीस्थित खरकट्टा जङ्गलमा दुईतर्फी कालोपत्रको काम सकिएको छ । यस्तै पूर्वी खण्डको यस सडकलाई पहिलो चरणको दुईतर्फी पिच गर्ने काम रजहर, अमरापुरी र हर्कपुर क्षेत्रमा यसअघि नै भइसकेको आयोजनाले जनाएको छ । सडकको ४२.७ किलोमिटर खण्ड चार लेनको हुने छ भने दाउन्ने खण्डको करिब पाँच किलोमिटर सडक तीन लेनको हुने सूचना अधिकारी खनालले बताउनुभयो । 


नवलपरासी बर्दघाट सुस्तापूर्वको गैँडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किमी सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८.५८ किमीलाई खण्डलाई ‘ख’ कायम गरी विस्तारको काम भइरहेको छ । यस आयोजनामा १६ अर्ब ९९ करोड ५२ लाख रुपियाँको लागतमा सडक विस्तारको कार्य सक्ने सम्झौता भएको थियो ।  

कमेन्ट गर्नुहोस्