लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान : २२ महिनामा ३६ हजार ५९३ यात्रुलाई सेवा

IMG

तिलोत्तमा सिटी २०८० चैत १ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २२ महिनाको अवधिमा दुईतर्फी गरी ४५० उडान भएका छन् । ती उडानबाट जम्मा ३६ हजार ५९३ यात्रुको सेवा पाएका हुन् । २०७९ जेठ २ गतेदेखि २०८० फागुन १७ गतेसम्म विभिन्न तीनवटा कम्पनी र केही चार्टर विमानले ४५० उडान गरेको विमानस्थलले जानकारी दिएको छ । जजिरा एयरलाइन्स, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स र केही चार्टर विमानले दुईतर्फी उडान गरेको गौतमबुद्ध विमानस्थलका प्रमुख हंसराज पाण्डेयले बताए । 


तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेपछि कुवेतको जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान गरेको थियो । उसले सुरुमा हप्ताको तीन दिन भैरहवा–काठमाडौँ हुँदै कुवेतबाट दुईतर्फी उडान गरेको थियो । एयरवेजले २५२ पटक उडान गरेको तथ्याङ्क छ । यता हिमालय एयरलाइन्सले ७२ पटक उडान गरेको छ । यस्तै नेपाल एयरलाइन्सले ५८ पटक उडान गरेको देखिन्छ । बिजनेस नपाएपछि जजिरा र हिमालय एयरलाइन्सले हाल उडान रोके पनि नेपाल एयरलाइन्सले हप्ताको एक दिन मलेसियाबाट काठमाडौँ हुँदै भैरहवा उडान गर्छ । 


हालसम्म गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा ३६ हजार ५९३ यात्रुले सेवा पाएका छन् । यहाँ १६ हजार २१९ यात्रु भित्रिएका छन् भने २० हजार ३७४ यात्रु बाहिरिएका छन् । विमानस्थल उद्घाटनसँगै जजिरा एयरलाइन्सले दुईतर्फ गरी २५२ पटक उडान गर्दा १४ हजार ६८६ यात्रु भित्र्याएको थियो भने १५ हजार ६५२ बाहिरिएका थिए । उक्त कम्पनीले कूल ३० हजार ३३८ यात्रुलाई सेवा प्रदान गरेको विमानस्थलले जनाएको छ ।  यस्तै केही महिना चलेको हिमालय एयरलाइन्सबाट भित्रिने जम्मा २ सय यात्रु रहेका छन् भने बाहिरिनेको सङ्ख्या४ हजार ६४१ रहेको छ । उक्त कम्पनीले भैरहवा हुँदै काठमाडौँबाट मलेसिया जाने गरेको थियो । 


नेपाल एयरलाइन्सले १२ सय ९५ यात्रु ल्याउँदा जम्मा ३४ यात्रु मात्रै भैरहवाबाट बाहिर लागेको छ । जाँदा काठमाडौँबाट पनि लैजाने हुँदा यहाँबाट यात्रुहरू कम भएका कम्पनीले जनाएको छ ।  काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने दैनिक ७० भन्दा बढी अन्तर्राष्ट्रिय उडान हुने गर्छन् । जसले गर्दा त्यहाँ एयर ट्राफिकमा चाप छ । त्यसको विकल्पका रूपमा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याए पनि भैरहवामा निजी विमान कम्पनीहरूले व्यवसायी रूपमा सफल हुन सकेनन् । जसले गर्दा विमान कम्पनीहरूले केही महिना चलाउने र रोक्ने गरेका छन् । 


विमानस्थल प्रमुख पाण्डेयले भने, ‘निजी विमान कम्पनीले आफ्नो बिजनेस हेर्छन् । यहाँ यात्रु कम पाएका कारणले कम्पनीहरूले उडान रोकेका छन् ।’ विमान कम्पनीहरू चल्नका लागि यात्रु पाउने अवस्था सिर्जना गर्नका लागि विमानस्थल मात्रै नभएर निजी क्षेत्रले साथ दिनुपर्ने उनले बताए । उनले आफूले अन्य विमान कम्पनीहरूलाई भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गराउन लागि पहल गरिरहेको बताए ।

कमेन्ट गर्नुहोस्