लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रेसुङ्गा विमानस्थलमा हप्ताको तीन पटक उडान हुने

IMG

तिलोत्तमा सिटी २०८० चैत १ गते । गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको तीन पटक उडान हुने भएको छ । हाल हप्तामा दुई पटक मात्रै उडान हुँदै आएकोमा अगामी सोमबार [चैत ५ गते] देखि हप्तामा तीन पटक उडान हुने भएको हो । यस विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले हप्तामा तीन पटक उडान भर्ने सहमति भएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । कठोर मिहेनत र पटक-पटकको छलफल पश्चात् आगामी सोमबारदेखि हप्तामा तीन पटक उडान भर्ने भएको उहाँले बताउनुभयो ।


निगमले आगामी सोमबारको टिकट खुला गरिसकेको छ । आम नागरिकले टिकटको अभावमा भोग्नु परेको दुख र समस्याको केही हदसम्म समाधान हुने भन्दै यात्रुको चाप हेरिसके पछि आवश्यकता अनुसार उडान थप गर्दै जाने विषयमा पनि छलफल प्रारम्भ गरिएको उहाँले बताउनुभयो । रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले २०८० वैशाख २९ गतेदेखि नियमित उडान भर्ने गरेको छ । उडान हुने दिनमा मात्र प्रहरी पठाएर सुरक्षा दिने काम भइरहेको यस विमानस्थलमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर दीर्घकालीन रूपमा चौबीसै घण्टा विमानस्थलको सुरक्षा गर्नको लागि नेपाल प्रहरीको एक पोस्ट बस्ने भएको नगरप्रमुख पन्थीले बताउनुभयो ।


रेसुङ्गा विमानस्थलका लागि काठमाडौँबाट बिहान ६ः३० बजे र यहाँबाट काठमाडौँका लागि बिहान ७ः४० बजे उडान गर्ने समय तालिका छ । काठमाडौँदेखि रेसुङ्गा विमानस्थलका लागि सात हजार २८० रुपियाँ र यहाँदेखि काठमाडौँका लागि सात हजार ८० रुपियाँ भाडा दर कायम गरिएको छ । ३५ करोडभन्दा बढी लगानीमा निर्माण भएको रेसुङ्गा विमानस्थल धावनमार्गको लम्बाइ ५२० मिटर र चौडाइ २० मिटर रहेको छ । यो कुल १५६ रोपनी जग्गामा फैलिएको  छ । विमानस्थल निर्माणको लागि मुआब्जा दिने गरी १४ घर बस्ती विस्थापित र २८ घर परिवारको जग्गा अधिग्रहण गरिएको छ । 

कमेन्ट गर्नुहोस्