
तिलोत्तमा,२०८० फाल्गुण २० गते। रुपन्देहीको तिलोत्तमा-९ केवलानी स्थित गौतम बुद्ध माविमा शैक्षिक बर्ष २०५३ /५४ का भूपू विद्यार्थी तथा शिक्षकहरुबीच पहिलो पटक औपचारिक रुपमा पुनर्मिलन ( भेला) सम्पन्न गरिएको छ ।भूपु विद्यार्थीहरुको समुहले विद्यालयसंगको समन्वयमा बिद्यालयको समग्र बिकासका लागि बिद्यालय प्राङ्गणमै आयोजना गरेको सो कार्यक्रममा ठुलो संख्यामा भूपु विद्यार्थी शिक्षकहरु सहभागि भएका थिए ।
बि.स.२०२६ सालमा स्थापित सो विद्यालयले माध्यमिक तहको पठनपाठन सञ्चालन गर्दै आएको छ भने बि.स.२०४० सालमा पहिलो पटक एस एल सी संगै बि.स.२०६४ सालदेखि प्लस टु संचालन गर्दै आएको छ। विद्यालयबाट पुर्व बिद्यार्थी विजया ज्ञवालीको अध्यक्षता र बिद्यालयका तत्कालिन प्रधानाध्यापक रबिन्द्र सिंह रानाको प्रमुख आतिथ्यमा भएको सो भेलामा सोहि विद्यालयका पूर्व शिक्षक समेत रहेका पशुपति माविका बर्तमान प्रधानाध्यापक बेद नारायण भट्टराई, हालका प्रधानाध्यापक मृगेन्द्र रिजाल, शिक्षक डिल्लीराम गैरे, पुर्व बिद्यार्थी प्रकाश पाण्डे, श्रीधर प्रसाद चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
भेलाले बिद्यालयको स्तरोन्नती र भौतिक निर्माण तथा शैक्षिक सुधारका लागि पुर्व बिद्यार्थी मंच गठन गरी संचालन गर्ने निर्णय गरेको छ ।बिद्यालयको बिबिध समस्यालाई मध्येनजर गर्दै आगामी दिनमा बिद्यालयको समग्र बिकासका लागि गौतम बुद्ध मावीलाई गौतम बुद्ध क्याम्पसको रुपमा बिकास गर्ने गरि भेलाले सुझाव संकलन समेत गरेको छ।
भेलाले बिद्यालयलाई सहयोग गर्ने तथा बिद्यालयको समग्र शैक्षिक बिकासका लागि योगदान दिने करिव १७ जना शिक्षकहरुलाई भूपू विद्यार्थीको तर्फबाट सम्मान समेत गरिको थियो। सो अवसरमा बोल्दै पुर्व बिद्यार्थी विजया ज्ञवालीले बिद्यालयको अवस्था चित्रण गर्दै सबैको सहयोगले समाजमा शिक्षाको ज्योती फैलाउने बिद्यालयलाई सबैको सहयोग रहनुपर्ने बताउनुभयो। त्यस्तै बिद्यालयका तत्कालिन प्रधानाध्यापक रबिन्द्र सिंह रानाले भूपू विद्यार्थीको सहयोगले देशका धेरै बिद्यालयको स्तरोन्नती भएको भन्दै शिक्षक अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धले समग्र बिद्यालयको बिकास सुनिस्चित रहेको बताउनुभयो।हालका प्रधानाध्यापक समेत रहेका मृगेन्द्र रिजालले गौतम बुद्ध क्याम्पस बनाउन आफु निरन्तर खटिरहेको बताउदै बिद्यालयलाई समाजमा अग्रणी भूमिकामा ल्याउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो।
पुर्व बिद्यार्थी प्रकाश पाण्डेले अबको शिक्षा प्राबिधिक शिक्षामा केन्द्रित हुनुपर्ने बताउदै विद्यालयको भौतिक सामाजिक र शैक्षिक बिकासमा सबैको योगदान अपरिहार्य रहेको बताउनुभयो। तिलोत्तमाको मंगलापुर देखि करिव १ किलोमिटर पुर्व रहेको केवलानी स्थित गौतम बुद्ध माविमा हाल ६ सय बिद्यार्थी अध्ययन गर्दछन। सामुदायिक बिद्यालयमा गुणस्तर शिक्षा दिदै आएको सो विद्यालयले प्लस टु सम्मको शिक्षा प्रदान गर्दै आइरहेको छ। पुनर्मिलन कार्यक्रमको संचालन भूपू बिद्यार्थी माया गैरेले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्