लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा पशु वधशाला सञ्चालनको तयारी

IMG

तिलोत्तमा सिटी २०८० फागुन १५ गते । बुटवल उपमहानगरपालिकाले वधशाला सञ्चालनलाई सबै क्षेत्रले सकारात्मक रूपमा लिन आग्रह गरेको छ । नगरवासीलाई स्वच्छ र सफा मासु उपभोग गर्ने व्यवस्था अनुसार मासु वधशाला सञ्चालनको तयारीमा रहेको भन्दै बुटवलले वधशालाबाट वध गरी प्रशोधन गरेको मासु उपभोग गर्न आग्रह गरेको हो ।


सोमबार मासुसँग सम्बन्धित सरोकारवालाहरूसँगको छलफलमा नगर प्रमुख खेलराज पाण्डेयले स्वच्छ र स्वस्थ मासु उपभोग गर्न पाउने उपभोक्ता अधिकार र स्वास्थ्यलाई ध्यानमा राखेर वधशाला सञ्चालन हुन लागेकाले सबै नगरवासीले वधशालामा वध गरेको मासु उपभोग गर्न आग्रह गर्नुभयो । उहाँले बुटवललाई व्यवस्थित र आधुनिक सहरका रूपमा स्थापित गर्नका लागि वधशालाले थप मद्दत पुर्‍याउने बताउँदै वधशाला सञ्चालनपछि यस क्षेत्रका किसान र व्यवसायीलाई समेत लाभ पुग्ने बताउनुभयो ।


वधशाला सञ्चालनपछि बुटवल स्वस्थ मासु उत्पादन र बिक्री गर्ने सहरका रूपमा स्थापित हुने र यसले बुटवलबाहिरका सहरमा समेत मासु बिक्री गर्न सक्ने प्रमुख पाण्डेयले बताउनुभयो । उपप्रमुख सावित्रीदेवी अर्यालले बुटवलका कतिपय पशु वधस्थल र मासु पसलहरू अत्यन्तै दुर्गन्धित रहेको बताउँदै वधशाला सञ्चालनपछि उपभोक्ताले हानिकारक मासु उपभोग गर्न नपर्ने बताउनुभयो ।


मुक्तिनाथ लाइभस्टक बैङ्क लिमिटेडका उमेश आचार्यले वधशाला सञ्चालनका लागि आवश्यक उपकरण जडान भइरहेको र पूरा हुनेवित्तिकै सञ्चालन गर्ने बताउनुभयो । मुक्तिनाथ लाइभस्टकले भ्याट र अन्य करबाहेक वार्षिक ५८ लाख ३८ हजार ७ सय १० रुपैयाँ बुटवल उपमहानगरपालिकालाई बुझाउने छ । बुटवल उपमहानगरपालिकाको पशु वधशाला व्यवस्थापन र सञ्चालन ऐन २०७९ अनुसारको यो व्यवस्था कार्यान्वयनमा आएपछि बुटवलमा रहेका मासु पसलहरूले खसीबोकाको मासु बिक्री गर्दा पशु वधशालामा वध गरी प्रमाणीकरण गरेको मासु मात्रै बिक्री गर्न पाउने छन् ।


वधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगर सभाबाट पशु वधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पारित गरेको छ । विधेयकले पशु वधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी वध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, मासु बिक्री गर्न इजाजत पत्र लिनुपर्नेजस्ता व्यवस्था गरेको छ । बुटवल उपमहानगरपालिका–१० रामनगरमा २ विघाह ३ कट्ठा क्षेत्रफलमा वधशाला निर्माण भएको छ ।

कमेन्ट गर्नुहोस्