लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शिक्षकलाई मासिक रूपमै तलब भुक्तानी सुरु

IMG

तिलोत्तमा सिटी,२०८०  फागुन १४ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले शिक्षकको तलब भत्ता मासिक रुपमै भुक्तानी गर्न सुरु गरेको छ । गाउँपालिकाले माघ महिनादेखि पालिकाभित्र कार्यरत सामुदायिक विद्यालयका शिक्षकहरूको तबल भत्ता मासिक रूपमा भुक्तानी गर्न थालेको हो । गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमूका अनुसार यसअघि त्रैमासिक अर्थात् तीन–तीन महिनामा भुक्तानी हुँदै आएको शिक्षकको तलब मासिक रूपमा भुक्तानी गर्न सुरु भएको हो । गाउँ कार्यपालिकाको बैठकले पारित गरेको निर्णय कार्यान्वयन गर्दै सामुदायिक विद्यालयमा कार्यरत सबै शिक्षकको तलब भत्ता मासिक रूपमा उपलब्ध गराउन सुरु गरिएको अध्यक्ष पोमूको भनाइ छ ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईले माघ महिनाको शिक्षकको तबल भत्ता भर्खरैदेखि सम्बन्धित शिक्षकलाई भुक्तानी थालेको जानकारी दिनुभयो । उहाँकाअनुसार अबदेखि निजामती र अन्य कर्मचारीलाई जस्तै गरी शिक्षकलाई पनि उहाँहरूले पाउने तलब भत्ता मासिक रूपमा भुक्तानी (उपलब्ध) गराइने छ । पाँच वटा वडा रहेको आठराई त्रिवेणी गाउँपालिकामा माध्यमिक विद्यालय र आधारभूत तह गरी कुल ३३ वटा सामुदायिक विद्यालय रहेका छन् । उक्त सङ्ख्यामा रहेको विद्यालयमा १८३ जना स्थायी दरबन्दीका शिक्षक कार्यरत छन् भने अस्थायी, राहत, करार शिक्षक, बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीसमेत गरी करिब ३०० जना कार्यरत रहेका गाउँपालिकाले जनाएको छ । पहिले देखिनै निजामती कर्मचारी सरह शिक्षकले पनि मासिक रूपमा तलब भत्ता पाउनुपर्ने माग हुँदै आएको थियो ।

कमेन्ट गर्नुहोस्